काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट लाइसेन्स पाएका ७ वटा नयाँ ब्रोकर कम्पनीहरुले यही असारभित्रै कारोबार सुरु गर्न पाउन भएका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आगामी सातासम्म ती ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गर्ने तयारी गरेको हो। यदि आगामी सातासम्म नेप्सेबाट सदस्यता ती नयाँ ब्रोकर यही असारभित्रै कारोबार सञ्चालन गर्नेछन्। 

नेप्सेले नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्डलाई कारोबार सदस्यता प्रदान गर्ने तयारी भएको हो। ‘ती कम्पनीहरुले केही हप्ताअघि कारोबार सदस्यताका लागि निवेदन दिएका थिए’, नेप्सेका प्रबन्धक निरन्ज फुयाँलले भने, ‘हिजोमात्रै उनीहरुले नेप्सेमा आफूहरु प्राविधिक र भौतिक रुपमा तयार रहेको कागजपत्र पेस गरेका छन्। ती कागजपत्र हामीले भेरिफाई पनि गरिसकेका छौँ। नेप्सेले फिल्ड भिजिट गरेर भौतिक र प्राविधिक पूर्वाधार निरीक्षण पनि गरिसकेको छ।’

सम्भवतः आगामी साता नेप्सेको बोर्ड बैठकले ती ७ वटालाई कारोबार सदस्यता प्रदान गर्ने फुयाँलले जानकारी दिए। ‘त्यसैले यही महिनाभित्रैबाट ती ब्रोकरले कारोबार सञ्चालन गर्न सक्ने देखिन्छ।’

सेबोनबाट १८ वटा नयाँ कम्पनीले ब्रोकर लाइसेन्स पाएका थिए। सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्। बाँकी ११ वटा कम्पनीको फाइन अध्ययन र फिल्ड भिजट गर्ने काम भइरहेको नेप्सेले जनाएको छ। 

सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीले आफूहरु असारभित्रै कारोबार सुरु गर्ने हिसाबले प्राविधिक र भौतिक रुपमा तयार अवस्थामा रहेको बताए। ‘नेप्सेले अब छिट्टै कारोबार सदस्यता प्रदान गर्ने जानकारी गराइरहेको छ’, उनले भने, ‘नेप्सेले कारोबार सदस्यता प्रदान गरेपछि हामी राफसाफ सदस्यताका लागि सीडीएससीबाट लिनुपर्ने हुन्छ।’

यसरी दुवै निकायबाट सदस्यता लिएपछि आफूहरुले परीक्षण कारोबार गर्नुपर्ने गिरीले जानकारी दिए। ‘त्यसपछि मात्र हामीले पूर्ण रुपमा कारोबार सञ्चालन गर्न सक्छौँ’, उनले भने, ‘त्यसैले नेप्से र सीडीएससीबाट आगामी साताभित्रै कारोबार सदस्यता पाएको खण्डमा यो महिनाभित्रै हामीले कारोबार सञ्चालन गर्न सक्छौँ’, उनले भने। 

यी ७ वटाले सेबोनबाट सीमित कार्य गर्ने ब्रोकरको लाइसेन्स पाएका छन्। 

यसैगरी दोस्रो चरणमा सेबोनले एउटा धितोपत्र व्यापारी (स्टक डिलर), एउटा पूर्ण कार्य गर्ने ब्रोकर र बाँकी ९ वटा सीमित कार्य गर्ने ब्रोकरको लाइसेन्स प्रदान गरेको छ। 

सेबोनमा आवेदन दिएर आशयपत्र पठाएका अझै २५ वटा कम्पनी नयाँ ब्रोकर लाइसेन्सको पर्खाइमा छन्।