काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले दुईवटा वाणिज्य बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ। 

बोर्डले सानिमा बैंक र बैंक अफ काठमाण्डू (बीओके) लाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो। बोर्डले सानिमालाई गत कात्तिक २७ गते र बीओकेलाई गत कात्तिक २४ गते ऋणपत्र निष्कासनको अनुमति दिएको हो। 

सानिमा बैंकले ४ अर्ब रुपैयाँको ‘सानिमा डिबेन्चर २०८६’ र बीओकेले १ अर्ब ६० करोड रुपैयाँको ‘बीओके डिबेन्चर २०८६’ निष्कासनको अनुमति पाएका छन्।

सानिमाले १ हजार दर अंकित कुल ४० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। तीमध्ये १६ लाख इकाइ सार्वजनिक निष्कासन तथा बाँकी २४ लाख इकाइ प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ। 

यसैगरी बीओकेले पनि १ हजार दर अंकित कुल १६ लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। जसमा ६ लाख ४० हजार इकाइ सार्वजनिक निष्कासन तथा बाँकी ९ लाख ६० हजार इकाइ प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ। 

यी दुवै बैंकका ऋणपत्रको ब्याजदर समान ८.५ प्रतिशत र अवधि १० वर्षको रहेको छ। इकाइधनीहरुले ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन्। 

धितोपत्र बिक्री प्रबन्धकमा सानिमाको एनआईसी एसिया क्यापिटल र बीओकेको नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन्।