काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामलिङ पावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ। 

नेप्सेको आजको निर्णयबाट सामलिङ पवारको सेयर कारोबार फुकुवा गर्ने निर्णय भएको हो। अब आइतबारबाट यो कम्पनीको सेयर कारोबारमा आउनेछ। 

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै सामलिङ पावरको सेयर कारोबार रोक्का गर्दै चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ। स्पष्टीकरण पेस गर्न नेप्सेले ३ कार्यदिनको समय दिएको थियो। 

सामलिङ पावरको गत मंसिर २१ गते बिहान ९ः३० बजेको सञ्चालक समितिले आर्थिक वर्ष २०७८–७९ का लागि सेयरधनीहरुलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको थियो। यो निर्णयबारे कम्पनीले दिउँसो ३ः४२ बजे नट्सको लगइनमार्फत नेप्सेमा जानकारी गराएको थियो। 

नेप्सेले विनियमावलीविपरीत सामलिङ पावरले धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराएको ठहर गरेको थियो। नेप्सेले के–कति कारणले नेप्सेमा समयमै जानकारी नगराएको सम्बन्धमा कम्पनीसँग चित्तबुझ्दो स्पष्टीकरण माग गरेको छ। 

सामलिङ पावरले गत मंसिर २७ गते नेप्सेमा पत्र पठाउँदै धितोपत्रको मूल्यमा प्रभाव पार्ने कुनै दुराशय नभएको र सदाशयमा कार्य गर्दागर्दै प्राविधिक रुपमा मानवीय त्रुटिले फरक अवस्था सिर्जना हुन गएको र अबउप्रान्त यस्ता त्रुटि नगर्ने जबाफ दिएपछि नेप्सेले कारोबार फुकुवा गरेको हो।