काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएतापनि अश्लिल र छाडापन हुन नहुने भन्दै सामाजिक सञ्जाललाई नियमन गर्ने कार्यका लागि नियमावली तुरुन्तै जारि गर्ने योजना रहेको बताएकि छन् ।

शुक्रबार नेपाल विज्ञापन संघ(आन) को २४ औं साधारण सभाको उद्घाटन गर्दै उनले सर्वसाधारणको सामाजिक सञ्जालमा  अश्लिल र छाडापन आउने गरेको गुनासो पछि सरकारले विशेष कदम चाल्नु परेको बताइन् ।

कार्यक्रममा मन्त्री शर्माले आनलाई विज्ञापन बोर्डमा क्षेत्रगत प्रतिनिधित्व गराउने तयारी भइरहेको बताइन्  । साथै उनले सरकारले विज्ञापन व्यवसाय र विज्ञापन एजेन्सीप्रति कुनै पुर्वाग्रह नराखेको  पनि बताइन् ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले विज्ञापन बजार बढाउने विषयमा महासंघ सकारात्मक रहेको बताए। विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन संघले बोर्डका हरेक कदममा सहयोग र सहकार्य गरेको बताए । 

यसैगरी, मिडिया एलायन्सका अध्यक्ष भाष्कर राज राजकर्णिकारले सरकारले आमसञ्चार क्षेत्रको  संरक्षण तथा विकासका लागि अनियन्त्रित युट्यूव तथा सामाजिक सञ्जालमा गरिने विज्ञापनमा रोक लगाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ, विज्ञापन बोर्ड, विभिन्न संघसंस्था  तथा सञ्चार उद्यमीहरुको उपस्थिति थियो ।