काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा साहस उर्जा र तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर आउँदो आइतबारबाट कारोबार आउने भएका छन्। 

यी दुवै कम्पनीको आईपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्। कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। भोलि शुक्रबार सेयर कारोबार नहुने भएकोले आउँदो आइतबारबाट यी दुवै कम्पनीको सेयर कारोबारमा आउने छन्। 

नेप्सेमा साहस उर्जाका कुल ३ करोड ५० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड ४५ लाख कित्ता र सर्वसाधारणको १ करोड ५ लाख कित्ता रहेको छ। 

नेप्सेले साहस उर्जालाई ‘एसएएचएएस’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि न्यूनतम १३५.११ रुपैयाँदेखि अधिकतम ४०५.३३ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। 

यसैगरी नेप्सेमा तेह्रथुम पावरको कुल ४० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २८ लाख कित्ता, प्रभावित क्षेत्रका बासिन्दाको ४ लाख कित्ता र सर्वसाधारणको ८ लाख कित्ता रहेका छन्। 

नेप्सेले तेह्रथुम पावरलाई ‘टीपीसी’ कारोबार संकेत प्रदान गरेको छ। यो कम्पनीले पहिलो कारोका लागि न्यूनतम ८४.७४ रुपैयाँदेखि अधिकतम २५४.२२ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। 

नेप्सेले पहिलो कारोबारका लागि तोकेको रेन्जभित्र यी दुवै कम्पनीको सेयर स्पेसल प्रि ओपनिङ सेसनमा किनबेच भएमा आइतबारबाट नियमित समयका लागि कारोबार खुल्नेछ। 

गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिएको थियो।

यो कम्पनीको आईपीओ बाँडफाँड गत असोज १७ गते भएको थियो। 

यसैगरी तेह्रथुप पावरको रु. ८ करोडको आईपीओ गत भदौ ९ गतेबाट भदौ १५ गतेसम्म बिक्री गरिएको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

यो कम्पनीको आईपीओ बाँडफाँड भदौ २५ गते भएको थियो।