– रेखा चन्द

काठमाण्डौ । हरेक वर्ष सेयरधनीहरुलाई प्रतिफल दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश दिँदैछ। सिटिजन्स गत वर्षको लाभांश प्रस्ताव गर्ने पहिलो वाणिज्य बैंक पनि बनेको छ। 

गत वर्षको मुनाफाबाट बैंकले बोनस सेयरलाई भन्दा पनि नगद लाभांशलाई प्राथमिकतामा राखेको हो। बैंकले चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। जुन १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँबराबरको हुनेछ। 

नेपाल राष्ट्र बैंकले पनि सबैभन्दा पहिले सिटिजन्स बैंककै वित्तीय विवरण स्वीकृत गरिसकेको छ। त्यसैले लाभांशलाई पारित गर्न साधारणसभा आह्वान गर्ने पहिलो वाणिज्य बैंक पनि सिटिजन्स बैंक पनि बनेको छ। 

बैंकको १६औँ वार्षिक साधारणसभा यही कात्तिक ४ गते डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजे हुनेछ। सभाले प्रस्तावित ९ प्रतिशत नगद लाभांश (करसहित)सहितका अजेन्डाहरु पारित गर्नेछ। 

लगानीकर्ताको लगानी पनि ठूलो रहेकोले उनीहरुको आवश्यकता पूरा गर्नका लागि पनि बैंकको रोजाइमा यसपालि नगद लाभांश परेको हो। तर, आगामी वर्षहरुमा भने बोनस सेयरमै जानुपर्ने स्थिति रहेको बैंकका एक अधिकारीले बताए। ‘भोलिको दिनमा बिजनेसको साइज बढ्दै जाँदा क्यापिटल बढाउनुुपर्ने स्थिति आउने भएकोले आगामी वर्षहरु बोनस सेयर जोड दिने बैंकको योजना छ’, ती अधिकारीले भने। 

बैंक जहिले पनि लगानीकर्तालाई समयमै लाभांश दिने उद्देश्य राखेको छ।  यसपालि दसैँअघि नै लगानीकर्तालाई रिटर्न दिने योजना रहे पनि दसैँ छिटो परेकाले त्यो सम्भव हुन नसकेको बैंकले जनाएको छ। तिहारभन्दा अगाडि नै नगद लाभांश लगानीकर्ताको खातामा पुुग्ने बैंकको भनाइ छ। 

यस्तो छ लाभांश इतिहास

सिटिजन्स बैंकले हालसम्म आफ्ना लगानीकर्तालाई कुल १८६.४८ प्रतिशत बोनस तथा नगद लाभांश दिन सफल भएको छ। बैंकले हरेक वर्ष लगानीकर्ताको प्रतिफल दिँदै आएको छ। बैंकले अधिकतममा २१.०५ प्रतिशत र न्यूनतममा ५ प्रतिशतभन्दा बढी लाभांश दिएको छ। 

बैंकले आईपीओ निष्कासन गरेकै वर्ष अर्थात आर्थिक वर्ष २०६५–६६ मा लगानीकर्तालाई १० प्रतिशतका दरले नगद लाभांश दिन सफल भएको थियो। त्यस्तै आर्थिक वर्ष २०६६–६७ मा १२.६३ प्रतिशत, आर्थिक वर्ष २०६७–६८ मा १०.६५ प्रतिशत, आर्थिक वर्ष २०६८–६९ मा ८.४२ प्रतिशत, आर्थिक वर्ष २०६९–७० मा १५ प्रतिशत, आर्थिक वर्ष २०७०–७१ मा १८.९५ प्रतिशत लाभांश वितरण गरेको छ।

यसैगरी आर्थिक वर्ष २०७१–७२ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७२–७३ मा १६.६३ प्रतिशत, आर्थिक वर्ष २०७३–७४ मा १७ प्रतिशत, आर्थिक वर्ष २०७४–७५ मा ५.२७ प्रतिशत, आर्थिक वर्ष २०७५–७६ मा १५ प्रतिशत, आर्थिक वर्ष २०७६–७७ मा ११ प्रतिशत र आर्थिक वर्ष २०७७–७८ मा १६ प्रतिशत लाभांश सेयरधनीले पाएका थिए।