काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धरान उपमहानगरपालिकाको वार्ड नं १५ ज्ञानचक्षु मार्ग स्थित  पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत रु ८०,०००। को आर्थिक सहयोग प्रदान गरेको छ । 

आज विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । यस विद्यालयले दृष्टिविहिन, न्यूनदृष्टि लगायत बहुअपाङ्ग बालबालिकाहरुको लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । शारीरिक रुपमा अशक्त विद्यार्थीहरूलाई विशेष माध्यमद्वारा अध्ययनअध्यापन गराईने यस विद्यालयले सम्पूर्ण विद्यार्थीहरु आवासीय रूपमा रही अध्ययन गर्ने व्यवस्था मिलाएको छ । यस विद्यालयको छात्रवासमा विद्यार्थीहरु भुईमा बसेर पढ्न जाडोको समयमा कष्टप्रद हुने भएकोले उक्त सहयोग रकमबाट छात्रवासमा न्यानो कार्पेट राख्नुका साथसाथै शारीरिक रुपमा अशक्त विद्यार्थीहरूको लागि पानी फिल्टर गर्ने यन्त्रको खरिद गर्ने कुरा विद्यालय प्रशासनले जनाएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।