काठमाण्डौ । दुई जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरिरहेका छन्। 

सिटिजन लाइफ र सन नेपाल लाइफले वैदेशिक रोजगारमा गएकाहरुका लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका हुन्। 

सीडीएससीका अनुसार बिहीबार साँझसम्म दुवै कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ। सिटिजन लाइफको आईपीओमा मागभन्दा १.४७ गुणा र सन नेपाल लाइफको आईपीओमा १.४८ गुणा बढी आवेदन परेको छ। 

सिटिजन लाइफको आईपीओमा २३ हजार ८३४ आवेदकले कुल १६ लाख ६४ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीले वैदेशिक रोजगारमा गएकाहरुका लागि कुल ११ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरेको छ। कम्पनीको आईपीओमा हालसम्म ४० करोड ६१ लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको छ। 

त्यस्तै सन नेपाल लाइफले वैदेशिक रोजगारमा गएकाहरुका लागि कुल ९ लाख ६० हजार कित्ता आईपीओ बिक्री खुला गरेकोमा हालसम्म २२ हजार ३०८ जना आवेदकबाट १४ लाख २३ हजार १० कित्ताका लागि आवेदन परेको छ। कम्पनीको आईपीओमा ३४ करोडभन्दा बढी रकम संकलन भइसकेको छ। 

सिटिजन लाइफको आईपीओमा साउन १४ गते र सन नेपाल लाइफको आईपीओमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।