काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले पदबाट राजीनामा दिएका छन् । 

उनको राजीनामा गत पुस २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको १५औं बैठकले स्वीकृत गरेको हो ।

एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारी दिंदै  उनले संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
 

निवर्तमान अध्यक्ष गोल्यानको राजीनामासँगै रिक्त हुन आएको अध्यक्ष पदमा परिसंघको वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।
 

अध्यक्षमा सर्वसम्मत भएका पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् ।

सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात  उनी नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा छन्  ।
नवनियुक्त अध्यक्षबाट बैैंकिङसहित राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरका विविध क्षेत्रमा हासिल गरेको बृहत्तर ज्ञान, अनुभव तथा दुरदर्शी नेतृत्व क्षमताबाट नयाँ उचाई प्राप्त गर्नुका साथै आर्थिक एवं बैंकिङ क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरुको न्यूनिकरण र समग्र अर्थतन्त्रको सबलीकरणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेको सिबिफिनले बताएको छ ।