काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार आयोजित साधारण सभाको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले उद्घाटन गर्दै सिबिफिनले बैंक तथा वित्तीय क्षेत्रको नीति निर्माणका लागि सकारात्मक काम गरिरहेको बताए ।

उनले देशका विभिन्न क्षेत्रमध्ये अन्तरराष्ट्रिय मानक भएको क्षेत्र बैंक तथा वित्तीय क्षेत्र रहेको पनि बताए । बैंकिङ क्षेत्रका कारण अहिले देशका विभिन्न क्षेत्रले उपलब्धि हासिल गरिरहेको भन्दै उनले १६औं राष्ट्रिय योजनामा बैंक तथा वित्तीय क्षेत्रलाई समेटेर लैजाने बताए । 
 

उनले भने,‘बैंक तथा वित्तीय क्षेत्र सबल भएमा मात्रै अरु क्षेत्र सबल हुन्छन् । यसमा सरकारको पनि ध्यान छ । सरकारबाट आफ्नो वित्त र मौद्रिक नीतिको तर्फबाट नियमन गर्ने र सहयोगको काम भइरहेको छ ।’

कार्यक्रममा योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडेलले सिबिफिनले अध्ययन र अनुसन्धानमा आधारित रहेर तथ्यपरक काम गर्ने गरेको भन्दै अन्य संस्थाले पनि यसको अनुशरण गर्न आवश्यक रहेको बताए । 
अर्थतन्त्र सुधारका लागि पूँजीगत खर्च बढ्नुपर्छ : अध्यक्ष गोल्यान
त्यसअघि, स्वगत मन्तव्य राख्दै सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले १६औँ योजनामा वित्तीय क्षेत्र र निजी क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।
उनले बैंक तथा वित्तीय क्षेत्रले आर्थिक वृद्धिदर तथा कुल गार्हस्थ उत्पादन बढाउनका लागि कसरी काम गर्न सकिन्छ भन्ने कुरा १६औं योजनामा समेटिनुपर्ने बताए ।

उनले देशको प्रमुख पेशाका रुपमा रहेको कृषि क्षेत्रसँगै उद्योग, ऊर्जा तथा सेवा क्षेत्रको उत्थान र वृद्धिमा बैंक तथा वित्तीय क्षेत्रलाई सँगै लैजान पनि आग्रह गरे ।
अध्यक्ष गोल्यानले सिबिफिनको पहलमा वैदेशिक रोजगारीमा गएकाहरुको लागि आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था भएको बताए ।
अध्यक्ष गोल्यानले समग्र अर्थतन्त्र सुधारका लागि पूँजीगत खर्च बढाउन सुझाव दिए । 
कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रको सूचक चारैतिरबाट नकारात्मक बनेको भन्दै अर्थतन्त्र चलायमान बनाउन एकल अंकको ब्याजदर कायम हुनुपर्ने बताए ।

उनले दोहोरो अंकको ब्याजदर रहेसम्म अर्थतन्त्रले गति नलिने पनि बताए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष अमित मोरले उद्योगी, व्यापारीको मनोबल खस्किरहेको अवस्थामा सिबिफिन तथा नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले समन्वय तथा साझेदारी गरिरहेको बताए । 
डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष सुयोग श्रेष्ठले सिबिफिन आएपछि बैंकहरुको ‘सुपरग्लू’ को काम गरिरहेको आफूले अनुभव गरेको बताए । 

यस्तै, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुशील पन्तले नीतिगत तहमा काम गर्ने सवालमा आफूहरु सिबिफिनसँगै रहेको बताए । 
 

कार्यक्रममा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले बैंकहरुको स्थायित्वको लागि पूँजीवृद्धितर्फ लाग्नु परेको तर यसले मात्रै स्थायित्व नहुने बताए ।