काठमाण्डौ । सिभिल बैंकका कर्मचारी बुधबारदेखि आन्दोलनमा उत्रिएका छन्।

हिमालयन बैंकसँगको मर्जरका क्रममा कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। मर्जर सम्झौताविपरीत हिमालयन गाभिएपछि सिभिलका कर्मचारीलाई एक तह घटुवा हुने गरी समायोजन गर्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। 

आन्दोलनमा उत्रिएका सिभिल बैंकका कर्मचारीहरुले आज केन्द्रीय कार्यालयदेखि देशभरका शाखाहरुमा बिहान १० बजेदेखि २ घन्टा पेन डाउन पनि गरे। ‘कर्मचारी समायोजनमा व्यवस्थापनसँग छलफल भइरहेको छ’, केन्द्रीय कार्यालयका एक कर्मचारीले भने, ‘त्यसैले व्यवस्थापन पक्षलाई दबाब दिन पेन डाउन गरेका हौँ।’ 

ती कर्मचारीका अनुसार सिभिल बैंकमा सुपरभाइजर भन्ने तह छ । ‘तर, हिमालयन बैंकमा सुपरभाइजर भन्ने तह खारेज भइसकेको छ’, ती कर्मचारीले भने, ‘मर्जरपछि सिभिल बैंकका सुपरभाइजर तहका कर्मचारीलाई सिनियर असिस्टेन्टमा घटुवा हुनुपर्ने अवस्था आउन सक्छ। यसले अन्य बैंकमा अवसर खोजेर जानेलाई एक तह तल पर्दा समस्या हुन्छ।’

गत असार २९ गते हिमालयन र सिभिल बैंकबीच प्रारम्भिक सम्झौता भएको थियो। यी दुवै बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्जरमा गएका हुन्। पुस २८ गते दुवै बैंकले साधारणसभामार्फत मर्जर प्रक्रियालाई पारित गरिसकेका छन्।

मर्जरपछि बैंकको नाम ‘हिमालयन बैंक लिमिटेड’ नै रहनेछ। बैंकको सीईओमा हिमालयन बैंकका सीईओ अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकका सीईओ सुनिलकुमार पोखरेल रहनेछन्।

दुवै बैंकले एकीकृत कारोबार फागुनबाट सुरु गर्ने तयारी गरिरहेका छन्। 

अहिले सिभिल बैंकको केन्द्रीय कार्यालयमा कर्मचारी युनियन र व्यवस्थापन पक्षको छुट्टाछुट्टै बैठक भइरहेको छ। कर्मचारीहरुको बैठकले थप आन्दोलनका कार्यक्रम ल्याउन सक्ने एक कर्मचारीले बताए।