काठमाण्डौ । सुनको  अण्डा दिने आयोजनाको रुपमा परिभाषित माथिल्लो तामाकोशीले सर्वसाधारणका लागि खुलाएको आइपीओमा हालसम्मकै सार्वजनिक निश्कासनमा परेको सबैभन्दा बढी आवेदन परेको छ । 

यो आयोजनाले लगानीकर्तालाई निकै राम्रो रिटर्न दिने चर्चासँगै मन्त्री तथा उच्चपदस्थ अधिकारीले समेत सुनको अण्डा दिने आयोजनाको रुपमा प्रचार गरिएसँगै लगानीकर्ताले मरिहत्ते गरेर आवेदन दिएका हुन् । 

यो आयोजनाको आइपीओमा छिटोमा कात्तिक १९ गतेसम्म आवेदन दिनुपर्ने थियो । यो अवधिसम्म नै कम्पनीको आइपीओमा साढे ६ अर्ब रुपैयाँको हाराहारीमा आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानीकोषले जनाएको छ । 

कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीका अनुसार ३ लाख २२ हजार ६ सय भन्दा बढी आवेदकले सेयर खरीदका लागि आवेदन दिएका हुन् ।

हालसम्म कुनै पनि कम्पनीको सार्वजनिक निश्कासनमा ३ लाख बढी आवेदन परेको थिएन । ३ लाख बढी आवेदन परेसँगै माथिल्लो तामाकोशीले सार्वजनिक निश्कासनमा हालसम्मकै बढी आवेदन आकर्षित गर्न सकेको रेकर्ड समेत बनाएको छ । 

यो कम्पनीको आइपीओमा अचाक्ली आकर्षण भएकै कारण सेयर निश्कासन भएको दिनदेखि नै मेरो सेयरमा समस्या भएको थियो । अचाक्ली आवेदक भएका कारण सेयरको अनलाइन आवेदन दिने प्लेटफर्मले समेत राम्ररी काम गरेका थिएनन् । पहिलो र अन्तिम दिन यो समस्या निकै धेरै भोग्नुपरेको आस्वा सदस्य बैंक तथा बित्तीय संस्था र तिनका शाखाका कर्मचारीहरुले बताएका छन् । 

यो कम्पनीले बिहीबारदेखि १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर निश्कासन गरेको हो । 

कम्पनीले आफ्नो चुक्तापूँजीको १५ प्रतिशतको हिसाबले सर्वसाधारणका लागि सेयर निश्कासन गरेको हो । 

सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानीकोष र सनराइज क्यापिटल लिमीटेड रहेका छन् । 

यसअघि कम्पनीले सञ्चयकोषका कर्मचारी, कर्जा प्रदान गर्ने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीका लागि २ अर्ब ५३ करोड रुपैयाँ बराबरको २ करोड ५३ लाख साधारण सेयर निश्कासन गरेको थियो । 

त्यो भन्दा अझ अघि जलविद्युत कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको आयोजना प्रभावित दोलखा जिल्लाबासीका लागि सेयर निश्कासन गरेको थियो । 

सर्वसाधारणले यो आयोजनाको आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । 

यो कम्पनीको सेयरमध्ये ५१ प्रतिशत हिस्सा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानीकोष र राष्टिय बिमा संस्थानको नाममा रहेको छ । यीमध्ये सबैभन्दा बढी विद्युत प्राधिकरणको ४१ प्रतिशत सेयर स्वामित्व रहेको छ। 

यस्तै, सर्वसाधारण र दोलखाबासीको कम्पनीमा क्रमशः १५ र १० प्रतिशत सेयर हिस्सा कायम हुनेछ भने बाँकी रहेको २४ प्रतिशत हिस्सा कर्मचारी सञ्ययकोषका सञ्चयकर्ता, विद्युत प्राधिकरणका कर्मचारी, कम्पनीका कर्मचारी र कर्जा प्रदान गर्ने निकायका कर्मचारीको नाममा रहनेछ ।

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको आधारभूत अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । 

यो कम्पनीले ४५६ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ । यो कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रहेको छ । यो देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।