– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) स्थापनाको २९ औँ वर्ष पूरा गरी ३० औँ वर्षमा प्रवेश गरेको छ।
नेपाली सेयर बजारको नियामक निकाय सेबोनले स्थापना भएको २९ वर्षमा पनि सेयर बजारमा हुने ठूला भित्री कारोबार अर्थात इन्साइडर ट्रेडिङ पत्ता लगाएर कारबाही गर्न भने सकेको छैन। सेबोनले २९ वर्षको समयावधिमा एउटा पनि इन्साइडर ट्रेडिङ पत्ता लगाएर कारबाही नगर्दा बेलाबखतमा सरोकारवालाले सेबोनको नियामकीय क्षमतामाथि नै प्रश्न गर्ने गरेका छन्।
सेबोनको सुपरिवेक्षण शाखाले अहिले पनि अजोड इन्स्योरेन्स, नेपाल हाइड्रो डेभलपर्स, रिडी हाइड्रोलगायतका कम्पनीको इन्साइडर ट्रेडिङको आशंकामा अध्ययन गरिरहेको छ। तर, सेबोनका यस्ता अध्ययन अध्ययनमै सीमित हुने गरेको छ।
सेबोनका सहप्रवक्ता तेजप्रसाद देवकोटा सेबोनमा अहिले पनि ५–७ वटा कम्पनीका इन्साइडर ट्रेडिङको आशंकामा अध्ययन भइरहेको र केही अध्ययन अन्तिम चरणमा पुगेको बताउँछन्। अन्तिम चरणमा पुगेको अध्ययनको विभागीय प्रमुखको रायसहित प्रतिवेदन आउने उनले बताए।
स्थापना भएको दशकौँ बित्दा पनि सेबोनले अहिलेसम्म किन इन्साइडर ट्रेडिङ पत्ता लगाएर कारबाही गर्न सकेको छैन ? भन्ने बिजशालाको जिज्ञासामा देवकोटा भन्छन्, ‘हामीसँग इन्साइडर ट्रेडिङ भयो भने के गर्ने भन्ने व्यवस्था छ। तर, इन्साइडर ट्रेडिङ के हो भनेर डिफाइन गर्न नै गाह्रो छ।’
इन्साइडर ट्रेडिङ अध्ययनमा फोन ट्यापिङलगायतका लागि आवश्यक अख्तियारी लिनुपर्ने देवकोटा बताउँछन्। ‘हामीसँग पर्याप्त जनशक्ति हुँदाहुँदै स्पष्ट कानुनी व्यवस्था साथै सर्भिलेन्स सिस्टम नहुँदा पनि अध्ययन सजिलो छैन’, उनले भने।
सेबोनको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा एआई बेस्ड सर्भिलेन्स सिस्टम पनि मुख्य प्राथमिकतामा रहेको देवकोटा बताउँछन्। ‘सेबोन अध्यक्षको पनि टेक्नोलोजी फोकस्ड भएर काम गर्ने प्राथमिकता रहेको छ’, उनले भने, ‘त्यसैले सेबोनमा प्रविधिमैत्री सर्भिलेन्स सिस्टम आएसँगै इन्साइडर ट्रेडिङलगायतको अध्ययनमा थप सहज हुन्छ।’
अधिवक्ता तथा वित्तीय जानकार ज्योति दाहाल विश्वभरको सेयर बजारमा इन्साइडर ट्रेडिङ हुने गरेको बताउँछन्। ‘इन्साइडरलाई अपराध मान्ने कि नमान्ने भन्ने पनि प्रश्न पनि बेलाबखतमा उठ्ने गर्छ’, उनले भने, ‘कसैले आफ्नो पहुँचबाट सूचना ल्याउँछ भने त उसको खुबी मान्नुपर्छ भन्ने पनि तर्कहरू भेटिन्छन्।’
अन्य मुलुकहरुको सेयर बजारमा इन्साइडर हुनुका साथै कारबाही पनि हुने नेपालमा भने अध्ययनमात्र हुने तर कारबाही नै नहुनुको विषयलाई प्रस्ट पार्दै दाहाल भन्छन्, ‘इन्साइडर ट्रेडिङ पत्ता लगाउन स्टक एक्सचेन्जको पनि मुख्य भूमिका हुन्छ। तर, नेपालमा नियामकहरुबीच आवश्यक समन्वय नभएको देखिन्छ। त्यसका साथै बोर्डमा इन्साइडर ट्रयाक गर्न सक्ने आधार, प्रविधि, कानुनी व्यवस्था साथै दक्ष जनशक्ति नहुँदा पनि कारबाही हुन नसकेको देखिन्छ।’
कानुनलाई व्यवहारसँग मिल्ने बनाउनुपर्ने दाहालको भनाइ छ। ‘त्यसका साथै सेबोनमा प्रविधिको विकासका साथै छुट्टै आइटी शाखा पनि उत्तिकै आवश्यक छ’, उनले भने, ‘कुनै कम्पनीको सेयरमूल्य ५ प्रतिशतले बढ्दा पनि इन्साइडर भयो भनेर हल्ला गरिन्छ। त्यसैले हाम्रोमा जेलाई पनि इन्साइडर भनेर लगानीकर्ताहरु सेबोन पुग्ने बेथिति पनि छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19