–अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट पटक-पटक आउने गरेको मौखिक निर्देशनका विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सञ्चालकहरुले तीव्र विरोध गरेका छन्। 

नेप्सेको सञ्चालक समितिको बैठकमा सेबोनबाट आउने मौखिक निर्देशनको कहिलेसम्म पालना गर्ने भन्दै तीव्र विरोध भएको हो। ‘सेबोनको मौखिक निर्देशनकै कारण अहिले नेप्सेलाई शुक्रबारको कारोबार बन्द गर्न सकस परेको छ’, बैठकमा सहभागी एक सञ्चालकले बिजशालासँग भने। 

पेट्रोलियम पदार्थको बढ्दो मूल्य र घट्दो विदेशी मुद्रा सञ्चितिका कारण नेपाल सरकारले जेठमा परीक्षणका रुपमा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सरकारले शनिबार र आइतबार सार्वजनिक दिने निर्णय लागू गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पनि आइतबार सेयर कारोबार बन्द गरेर शुक्रबार खुला गर्ने निर्णय गरेको थियो। 

सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णयको चर्को आलोचना भएपछि असारबाट पुनः आइतबार बिदा दिने निर्णय खारेज गरेको थियो। तर, नेप्सेले भने पुनः आइतबार सेयर कारोबार गर्नुका साथै शुक्रबार पनि २ घन्टा बजार खुलाउने निर्णय गर्यो। नेप्सेको शुक्रबार २ घण्टा बजार खुलाउने निर्णयको अहिले चौतर्फी रुपमा आलोचना भइरहेको छ।

शुक्रबार पनि कारोबार सुचारु गर्ने नेप्सेको निर्णयलाई त्यतिबेला लगानीकर्ता संघसंठनका अगुवा, ब्रोकर, सीडीएससीलगायत सबैले स्वागत गरेका थिए। नेप्सेका एक अधिकारीका अनुसार असारमा सेबोनबाट मौखिक निर्देशन आएसँगै नेप्सेले शुक्रबारको कारोबार २ घन्टा गर्ने निर्णय गरेको थियो। ती अधिकारीले भने, ‘अहिले उक्त व्यवस्थाको चौतर्फी विरोध भएसँगै सेबोनबाट शुक्रबारको कारोबार बन्द गर्न भनेर मौखिक निर्देशन आएको छ। सेबोनको मौखिक निर्देशनको कहिलेसम्म पालना गर्ने भनेर नेप्सेको सञ्चालक समितिमा प्रश्न उठेको छ। त्यसैले नेप्सेलाई शुक्रबारको कारोबार बन्द गर्न सकस भएको हो।’

केही दिनअघि नेप्सेको सञ्चालक समितिमा शुक्रबारको कारोबार बन्द गर्ने अजेन्डामाथि छलफल भएको थियो। बैठकमा सहभागी एक सदस्यले भने, ‘सेबोनको मौखिक निर्देशनको बैठकमा तीव्र विरोध भएको थियो। त्यसैले शुक्रबारको कारोबार बन्दबारे आवश्यक थप छलफलपछि मात्र निर्णय गरिने सहमति भएको छ।’

सेबोनका प्रवक्ता रुपेश केसीले सेयर कारोबार सञ्चालन गर्ने विषयमा निर्णय गर्ने अधिकार नेप्सेलाई नै रहेको बताउँछन्। ‘धितोपत्र कारोबार विनियमावलीमा स्पष्ट रुपमै सेयर कारोबार सञ्चालनसम्बन्धी निर्णय गर्ने अधिकार नेप्सेलाई छ’, उनले भने, ‘ त्यसैले नेप्सेले नै शुक्रबार कारोबार यथावत राख्ने कि बन्द गर्ने भन्ने निर्णय आफैँ लिन सक्छ। सेबोनले निर्देशन दिइरहनुपर्दैन।’

प्रवक्ता केसीले आइतबारको सार्वजनिक बिदा सरकारले हटाइसकेको अवस्थामा नेप्से शुक्रबारको कारोबार बन्द गर्नुपर्ने पनि बताए। ‘अन्तर्राष्ट्रिय बजार पनि हप्तामा ५ दिनमात्रै खुल्छ, त्यसैले नेपालमा पनि हप्तामा ५ दिनमात्रै सेयर कारोबार गर्दा हुन्छ’, उनले भने, ‘सेबोनको आधिकारिक धारणा भनेको शुक्रबारको सेयर कारोबार बन्द गर्नुपर्छ भन्ने हो।’