 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) खेर गएको बिजुलीबापतको रकमलाई आम्दानीमा जोडेर गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको खानीखोला जलविद्युत कम्पनीसँग यथार्थ जानकारी पठाउन भन्दै पत्र काटेको छ।
सेबोनले आज पत्र पठाउँदै खानीखोला जलविद्युतसँग यथार्थ जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्षको असार मसान्तसम्म नेपाल विद्युत प्राधिकरणले समयमा ट्रान्समिसन लाइन नबनाएका कारणले गर्दा खेर गएको बिजुली बिक्री गरेबापत पाउनुपर्ने ४१ करोड ३ लाख रुपैयाँ बढी विद्युत प्राधिकरणसँग दाबी गर्ने र यसबारे प्राधिकरणमा पत्राचार पनि गरिसकेको जनाएको छ। उक्त रकम समीक्षा अवधिको वित्तीय विवरणमा समावेश गरिएको पनि कम्पनीले स्पष्ट पारेको छ।
यसरी खेर गएको बिजुलीको रकम पनि वित्तीय विवरणमा समावेश गर्दा नाफामा विद्युत बिक्रीको आम्दानी ह्वात्तै बढेको देखिएको छ। कम्पनीले समीक्षा अवधिमा विद्युत बिक्रीबापत ५१ करोड २ लाख रुपैयाँ आम्दानी भएको जनाएको छ। जब कि अघिल्लो वर्ष विद्युत बिक्रीको आम्दानी ५ करोड १० लाख रुपैयाँमात्रै थियो।
यही विषयलाई लिएर सेबोनले के–कति कारणले हुँदै नभएको आम्दानी वित्तीय विवरणमा सार्वजनिक गरेको भन्दै जबाफ माग गरेको छ। ‘यसबारे छिटोभन्दा छिटो यथार्थ कुरा र विवरण पठाउन भनेका छौँ’, सेबोनका एक अधिकारीले भने, ‘स्पष्टीकरण होइन हामीले यथार्थ जानकारी माग गरेका हौँ।’
यसरी कम्पनीले खेर गएको विद्युत र त्यसबापत प्राधिकरणबाट उठ्नै बाँकी रहेको रकम आम्दानीमा देखाउँदा नाफामा उल्लेख्य वृद्धि भएको छ। जसका कारण कम्पनीको प्रतिसेयर आम्दानी पनि ७१.२१ रुपैयाँ पुगेको छ। जब अघिल्लो वर्ष यही अवधिमा कम्पनीको ईपीएस ३२.३५ रुपैयाँले ऋणात्मक थियो।
यसअघिविद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ खेर गएको बिजुलीको पैसा नेपाल विद्युत प्राधिकरण तिर्नुपर्छ भन्ने खानीखोला जलविद्युत कम्पनीको दाबीमात्र भएको तर उक्त रकम तिर्न विद्युत प्राधिकरण बाध्य नहुने बताएका थिए।
यो पनि पढ्नुहोस् - खानीखोला जलविद्युतको हदैसम्मको फट्याइँ, खेर गएको बिजुलीबाट कसरी हुन्छ कमाइ ?
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19