काठमाण्डौ । सरकारले आर्थिक विधेयक–२०८०मार्फत लिएको करको नीतिप्रति असन्तुष्टि जनाउँदै सेयर लगानीकर्ताहरुले आइतबार बिहानैदेखि विभिन्न ब्रोकर कार्यालय पुगेर तालाबन्दी गर्न थाले नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल अर्थ मन्त्रालय पुगेका छन्। 

आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरुले गत बिहीबार ब्रोकर कार्यालयहरुमा पुगेर टीएमएस बन्द गर्न लगाएका थिए। उनीहरुले टीएमएस सञ्चालन गर्न नदिन भनेर आज बिहानैदेखि ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरिरहेका छन्। ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेपछि आज सेयर कारोबार प्रभावित हुन सक्ने देखिएपछि सेबोन अध्यक्ष हमाल अर्थ मन्त्रालय पुगेका हुन्। 

अहिलेसम्म लगानीकर्ताहरुले एक दर्जनभन्दा बढी ब्रोकर कार्यालयहरुमा तालाबन्दी भइसकेको छ। आन्दोलनरत लगानीकर्ताहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नराकिने र सेयर कारोबार गर्न नदिने भनिरहेका छन्। उनीहरुले ब्रोकर हाउसहरुमा लगाइएको ताला खोल्ने प्रयास भएमा त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयं ब्रोकर सञ्चालकले लिनुपर्ने चेतावनी दिएका छन्। 

ब्रोकर सञ्चालकहरुले पनि ब्रोकर कार्यालयहरुमा लगाएको ताला आफूहरुले नखोल्ने स्पष्ट पारिसकेका छन्। उनीहरुले सरकार र नियामक निकायले नै लगानीकर्ताहरुलाई आश्वस्त पारेर ताला खोली कार्यालय सञ्चालनको वातावरण मिलाउनुपर्ने बताएका छन्। 

सेबोन अध्यक्ष हमालले आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुका विषयमा छलफल गर्न आफू अर्थ मन्त्रालयमा रहेको बताए। ‘म अहिले अर्थ मन्त्रालयमै छु’, बिजशालासँग हमालले भने, ‘लगानीकर्ताहरुलाई कसरी आश्वस्त पार्ने र आज सेयर कारोबार कसरी खुलाउने भन्ने विषयमा छलफल गर्नेछु।’

बजार निर्वाध रुपमा सञ्चालन गर्न आफूले अर्थमन्त्री र अर्थ मन्त्रालयका अधिकारीहरुसँग छलफल गर्ने अध्यक्ष हमालले जानकारी दिए। ‘हेरौँ छलफलपछि केही निष्कर्ष निस्किन्छ ?’, उनले भने।

आर्थिक विधेयकको २९ नं. बुँदा खारेजीको माग लगानीकर्ताहरुले गरेका छन्। उक्त बुँदामार्फत सेयर लगानीकर्तालाई आयकरमा तान्न लागिएको उनीहरुको भनाइ छ। यसअघिको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने उनीहरुको माग छ।