– अर्जुन तिमिल्सिना

काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा घट्दै देखिएको छ। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा गरिएको कडाइका कारण बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने यस किसिमको कर्जा घट्दै गएको हो। सेयर धितो कर्जामा गरिएको कडाइका कारण लगानीकर्ताहरुले एकातिर कर्जा सेटलमेन्ट र अर्कोतिर बैंकहरुले तरलता संकट देखाउँदै कर्जा प्रवाहमा कम गर्न थालेपछि सेयर धितो कर्जा घट्दै गएको जानकारहरु बताउँछन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट कुल १ खर्ब ६ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म घटेर सेयर धितो कर्जा १ खर्ब ३ अर्ब रुपैयाँमा सीमित बनेको छ। यो हिसाबले सेयर धितो कर्जा रकम २.२ प्रतिशत घटेको छ। 

राष्ट्र बैंकका प्रवक्ताका अनुसार मंसिर २३ गतेसम्म सेयर धितोमा कुल ८४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। यो भनेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तुलनामा १८.४४ प्रतिशतले कम हो। 

राष्ट्र बैंकका अनुसार सेयर धितो कर्जा पछिल्लो १५ दिनमा २० अर्ब रुपैयाँले घटेको छ। 

राष्ट्र बैंकको तथ्यांकले पनि मौद्रिक नीतिमा गरिएको कडाइका कारण लगानीकर्ताहरु आक्रामक ढंगबाट कर्जा सेटेलमेन्टमा लागेको प्रस्ट बुझ्न सकिन्छ।