काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले सेयर कारोबारको लागत कम गरिने बताएका छन्। 

धितोपत्र ब्रोकर एसोसिएसन नेपालले आज काठमाण्डौमा नयाँ ब्रोकर कम्पनीहरुको स्वागतमा गरेको कार्यक्रममा अध्यक्ष हमालले सेयर कारोबारको लागत कम गरिने बताएका हुन्। ‘भोलुममा कारोबार गर्नेहरुलाई लागत कम गरिनेछ’, उनले भने। 

धितोपत्र बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सेयर कारोबारको लागत कम गरिने उल्लेख छ। 

अध्यक्ष हमालले ब्रोकर कम्पनीहरु लगानीकर्ताप्रति जबाफदेही हुनुपर्ने पनि बताए। ‘ब्रोकरहरु लगानीकर्ताहरुको कारोबार सेटलमेन्टलाई सहज बनाउनुपर्छ’, उनले भने। 

सबैको प्रयासबाट नयाँ ब्रोकर कम्पनीहरु बजारमा आएका अध्यक्ष हमालले बताए। ‘यो पुँजीबजारको सुखद् यात्राको सुरुआतमात्रै हो’, उनले भने, ‘अझै धेरै काम गर्न बाँकी छ।’

हमालले सबै ब्रोकर कम्पनीहरुबीच स्वच्छ ढंगको प्रतिस्पर्धा हुनुपर्ने बताए। ‘यस्तो भएमा मात्रै लगानीकर्ताको विश्वस र भरोसा जित्न सकिन्छ’, उनले भने। 

अध्यक्ष हमालले बजारमा बुझेरमात्रै लगानी गर्न पनि लगानीकर्ताहरुलाई सुझाव दिए। ‘पीईभीसी, स्टार्टअप कम्पनी, एसएमई प्लेटफर्मका लागि नयाँ नियमावली आउँछ’, उनले भने, ‘नियमावलीको मस्यौदा तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ।’

कार्यक्रममा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले ब्रोकर कम्पनीहरुले चेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने सुझाव दिए। ‘सबैतिर आआफ्नो ढंगले पुँजीबजारको विकास र विस्तारका लागि पहल हुने हो भने बजार फड्को मार्नेछ’, उनले भने।