काठमाण्डौ । सेयर कर्जामा लागेको १२ करोड रुपैयाँको क्याप हट्ने भएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले १२ करोडको क्यापलाई संस्थागत लगानीकर्ताको हकमा हटाउने गरी आवश्यक व्यवस्था गर्न अर्थसचिव तथा नेपाल राष्ट्रबैंकमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिका सदस्यलाई निर्देशन दिएका हुन् । 

अर्थ मन्त्रालयस्थित स्रोतका अनुसार डा. महतले सेयर धितो कर्जामा संस्थागत लगानीकर्ताको हकमा कुनै क्याप नलगाउने गरी व्यवस्था गर्न भनेका हुन् । 

उनले व्यक्तिगत लगानीकर्ताको हकमा १२ करोडको क्यापलाई बढाएर कम्तीमा २४ करोड पुर्याउन निर्देशन दिएका छन् । 

अर्थसचिव अर्जुनप्रसाद पोखरेल नेपाल राष्ट्रबैंकको सञ्चालक समिति सदस्य छन् । 

मंगलबार सचिव पोखरेललाई अर्थमन्त्री डा. महतले १२ करोडको क्यापसम्बन्धी व्यवस्थामा यथासक्य चाँडो संसोधन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । केन्द्रीय बैंकको अब बस्ने बोर्ड बैठकले यो विषयमा निर्णय गर्ने सम्भावना छ। 

‘राष्ट्रबैंकका प्रतिनिधिहरुलाई पनि अर्थमन्त्रालयमै बोलाएर अर्थमन्त्री ज्यूले सेयर बजारलाई राहात हुने गरी आवश्यक नीतिगत व्यवस्था गर्न निर्देशन दिइसक्नुभएको छ ।’ अर्थस्रोतले भन्यो–‘विदेशमा रहेका गभर्नर आएपछि केही दिनमै उनलाई समेत बोलाएर अर्थमन्त्रीले सेयर बजारलाई सहज हुने गरी नीतिगत व्यवस्थाका लागि आवश्यक सहजीकरण गर्न आग्रह गर्ने योजना छ।’ 

सेयर बजारका ठूला लगानीकर्ताहरुले लामो समयदेखि सेयरधितो कर्जामा लाग्दै आएको रु. १२ करोडको क्याप खारेजीको माग गर्दै आएका छन् । 

सरकारले यो मागलाई सम्बोधन गर्नका लागि मध्यमार्गी बाटो रोज्न खोजेको हो । अर्थमन्त्रीको निर्देशन कार्यान्वयन भएको खण्डमा संस्थागत लगानीकर्ताका लागि १२ करोडको सेयर कर्जाको क्याप पूर्ण रुपमा हट्नेछ भने व्यक्तिगतका लागि १२ करोडको क्याप बढ्नेछ । 

यसअघि केन्द्रीय बैंकले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोडसम्म सेयर कर्जा लिन पाउने व्यवस्था हटाउँदै प्रतिव्यक्तिले १२ करोडको सीमा राख्दैै एक बैंकबाट नै उक्त सीमासम्म कर्जा लिनसक्ने व्यवस्था गरेको थियो । 

साथै ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा तोकिएको सिमाभित्र ल्याउन २०७९ असार मसान्तसम्मको समय दिइएको थियो । यो व्यवस्थाले सेयर बजार प्रभावित भएको विश्लेषकहरुले दाबी गर्दै आएका छन् ।