काठमाण्डौ । राष्ट्रबैंकका अधिकारीहरुको दाबीलाई आधार मान्ने हो भने सेयरधितो कर्जामा लाग्दै आएको १२ करोडको सीमा केही दिनभित्रै पुनरावलोकन हुने भएको छ । 

राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी उपचार गरेर स्वदेश फर्किएपछि दैनिकजसो अर्थमन्त्रीसँग छलफलमा बसिरहेका छन् । ती सबै छलफलमा आएका कुराहरु, भएका आन्तरिक सहमति र गभर्नर अधिकारीको परिवर्तित मूडलाई आधार मान्ने हो भने सेयरधितो कर्जाको सीमा पुनरावलोकन केही दिनभित्रमै हुने संकेत देखिएको केन्द्रीय बैंककै अधिकारीहरुले दाबी गरेका हुन् । 

ती स्रोतहरुकाअनुसार सेयरधितो कर्जामा व्यक्तिगततर्फको १२ करोडको सीमालाई २४ करोडसम्म पुर्याउन र संस्थागतको हकमा क्याप हटाउने विषयमा पछिल्लो समय गभर्नर समेत सकारात्मक देखिएका छन् । 

अर्थतन्त्र एकपछि अर्को गर्दै अप्ठ्यारोमा परेपछि, थुप्रै प्रयासहरुका बाबजुद बैंक तथा वित्तीय संस्थाहरुबाट लोन प्रवाह नभएपछि र सरकारले समेत लक्ष्यअनुसारको राजश्व संकलन गर्न नसकेपछि अर्थमन्त्रालय र मातहतका प्राय सबै निकाय अर्थतन्त्र चलायमान बनाउनका लागि सबै खालका विकल्पमा जानुपर्ने निश्कर्षमा पुगेका छन् । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार र मंगलबार पूँजीबजारसँग सम्बद्ध निकाय, अर्थमन्त्रालयअन्तरगतको उच्चस्तरीय आर्थिक समितिका सदस्यहरुसँग छलफल गरेका छन् । 

सोमबार मात्रै अर्थमन्त्री डा. महतले गभर्नर अधिकारीसँग निकै लामो वान टू वान छलफल गरेका थिए । सो क्रममा गभर्नर अधिकारीले अर्थमन्त्रीको आग्रहलाई सकारात्मक रुपमा लिएका स्रोत दाबी गर्छ । ‘अर्थमन्त्री ज्यूले सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको क्याप हटाउने विषयलाई गम्भीरताका साथ राख्नुभएको बुझिएको छ ।’ स्रोतले भन्यो–‘पछिल्लो छलफलमा गभर्नर समेत यो विषयमा सकारात्मक देखिनुभएको सूचना आएको छ । १२ करोडको सेयर धितो कर्जाको क्याप हटाएर पूँजीबजार चलायमान हुन्छ भने त्यसका लागि आफू तयार रहेको संकेत गभर्नर सा’बले अर्थमन्त्रीलाई दिनुभएको छ ।’ 

गभर्नर अधिकारीले पछिल्ला छलफलहरुमा सेयरधितो कर्जामा लाग्दै आएको क्याप ठूलो विषय नभएको उल्लेख गर्दै योसहित अन्य सबै खालका नीतिगत सुधारहरुमा जान केन्द्रीय बैंक तयार रहेको प्रष्ट सन्देश दिने गरेका छन् । ‘आर्थिक गतिविधि चलायमान हुन्छ भने हामी कुनै पनि नीति संसोधनको पक्षमै छौं’ भन्ने गभर्नर अधिकारीको प्रष्ट सन्देश रहेको स्रोत बताउँछ । 

अर्थमन्त्री डा. महतसँगको सोमबारको छलफलमा गभर्नरले केही दिनभित्रै १२ करोडको क्यापको विषयमा नयाँ व्यवस्था ल्याउने वचन दिएका स्रोतको दाबी छ । 

पछिल्लो समय अर्थमन्त्री मात्र नभई गभर्नरको कार्यशैलीलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) समेत सन्तुष्ट नभएपछि अधिकारी नैतिक दवाबमा देखिन्छन् । आफूलाई अर्थतन्त्रको बाधकको रुपमा चित्रित गर्दै प्रचारप्रसार गरिएकोमा उनी असन्तुष्ट देखिन्छन् । सेयर बजारदेखि सबै क्षेत्रका लगानीकर्ताले आफूलाई मात्र शत्रू देख्ने अवस्था बनेपछि गभर्नर अधिकारी सकेसम्म लचक भएरै अगाडि बढ्ने रणनीतिमा रहेका उनी निकटकाहरुको दाबी छ । 

कहिले हट्ला त १२ करोडको क्याप ?
स्रोतहरुका अनुसार असोज ५ गते अर्थमन्त्री डा. महत इजिप्टको एकसाता लामो भ्रमणका लागि जाँदैछन् । अर्थमन्त्री डा. महत भरसक असोज ५ गतेअघि नै १२ करोडवाला सेयर धितो कर्जाको क्यापमा संसोधन होस् भन्ने चाहन्छन् । तर, ढिलै भए पनि सो व्यवस्था राष्ट्रबैंकको एउटा सर्कुलरमार्फत नै हट्नसक्ने भएकोले अर्थमन्त्री ढुक्क देखिएका छन् । ‘ढिलोमा अर्थमन्त्री ज्यू इजिप्टको भ्रमण सकेर स्वदेश आइपुग्दासम्म १२ करोड सम्बन्धी व्यवस्था संसोधन भइसक्ने देखिन्छ । केन्द्रीय बैंकले सोहीअनुसार तयारी अगाडि बढाएको सूचनाहरु आएका छन् ।’–अर्थमन्त्रीको निजी सचिवालयका एक सदस्यले जानकारी दिए । 

अर्थमन्त्री डा. महतले पूँजीबजार चलायमान बनाउने र दैनिक कारोबार १० अर्ब माथि पुर्याएर निकै राम्रो राजश्व बजारबाट संकलन गर्ने योजनामा छन् । ‘केही महिनासम्म दैनिक १० अर्ब हाराहारीमा दोश्रो बजारमा सेयर कारोबार भएको खण्डमा सरकारलाई राजश्वमा निकै ठूलो योगदान हुन्छ भन्ने हाम्रो बुझाई छ ।’ अर्थस्थित स्रोतले भन्यो–‘पछिल्लो समय स्वयम् अर्थमन्त्री ज्यू अर्थतन्त्र चलायमान बनाउने सबै विकल्पमा जान तयार हुनुहुन्छ । ब्याक टू ब्याक सम्बन्धित निकायहरुको छलफल पनि डाकिरहनुभएको छ ।’

यदि यसपटकको गम्भीर आग्रहलाई पनि गभर्नरले अटेर गरेमा राष्ट्रबैंकको बोर्ड बैठकमा बहुमतले सेयर धितो कर्जाको क्याप हटाउने निर्णय गराउनेसम्मको रणनीति अर्थमन्त्रालयले बनाएको बुझिएको छ।