काठमाण्डौ । पूर्वतयारी र छलफलहरु निरन्तर रहे र बीचमा कुरा बिग्रिएन भने यही साताको अन्तिमसम्ममा नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जा सम्बन्धी अहिलेको व्यवस्था पुनरावलोकन गर्न सक्नेछ ।  

केन्द्रीय बैंकस्थित उच्च स्रोतकाअनुसार यही साता बिहीबार वा शुक्रबार सञ्चालक समितिको बैठक बोलाउने गरी आवश्यक तयारी भइरहेको छ । सो बैठक सेयर बजारका लगानीकर्ताका लागि महत्वपूर्ण हुनसक्छ । 

इजिप्ट भ्रमणको क्रममा रहेका अर्थमन्त्री पनि असोज ११ गते नै स्वदेश फर्किदैछन् । त्यही दिन वा भोलिपल्टसम्म राष्ट्रबैंकको सञ्चालक समितिको बैठक बोलाउने तयारी भइरहेको छ । 

पछिल्लो समय राष्ट्रबैंकमाथि १२ करोडको सेयरधितो कर्जा सम्बन्धी व्यवस्था संसोधन गर्न चौतर्फी दवाब छ । स्वयम् अर्थमन्त्रीले समेत पटक–पटक गभर्नर महाप्रसाद अधिकारीलाई सेयरधितो कर्जाको क्यापमा पुनर्विचार गर्न भनिसकेका छन् । सेयरबजारका लगानीकर्तालाई सहज हुने गरी व्यक्तिगत सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर २५ करोडसम्म पुर्याउन र संस्थागतको हकमा भने यस्तो क्याप हटाउने गरी आवश्यक व्यवस्था गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले यसअघि नै भनिसकेका छन् । अर्थमन्त्रीले सेयर बजारका लगानीकर्तालाई राहात हुने गरी नीतिको संसोधन गर्न दिने गरेको सुझावमा पछिल्लो समय गभर्नरले पनि समर्थन जनाइरहेका छन् । यहीकारण समेत सरकारको चाहनाअनुसार सेयर धितो कर्जामा लाग्दै आएको क्यापमा संसोधन हुने स्रोतको दाबी छ । 

सोमबार मात्रै पूँजीबजारको नियामक धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गभर्नरलाई गएर भेटेका थिए । सो क्रममा हमालले पनि १२ करोडको क्याप हटाएर बजारलाई चलायमान बनाउनुपर्ने र गुमेको लगानीकर्ताको मनोबल उकास्नुपर्नेमा जोड दिएका थिए । 

स्रोतकाअनुसार अर्थमन्त्रीकै निर्देशनमा दवाब दिने उद्देश्यले अध्यक्ष हमाल राष्ट्रबैंक पुगेका थिए । 

अर्थमन्त्री आफू विदेशमा भए पनि नवनियुक्त अर्थसचिव कृष्णहरि पुस्करमार्फत समेत राष्ट्रबैंकको बोर्ड बैठक बोलाउन र सेयर धितो कर्जाको क्याप सम्बन्धी विद्यमान व्यवस्था परिमार्जनका लागि निरन्तर दवाब दिइरहेका छन् । अर्थमन्त्रीले विश्वास गरेर जिम्मेवारी दिएपछि अर्थसचिव पुस्कर समेत १२ करोडको क्यापमा संसोधन गर्ने विषयमा आवश्यक निर्णय गराउन लागिपरेको बुझिएको छ । 

‘भरसक सहमतिकै आधारमा १२ करोडको क्याप संस्थागतको हकमा हटाउने र व्यक्तिगतको हकमा २५ करोड पुर्याउने योजना हो ।’ अर्थमन्त्रालयस्थित स्रोतले भन्यो–‘यदि त्यसमा कुनै गडबडी हुन खोज्यो भने केन्द्रीय बैंकको बोर्डको बहुमतबाट नयाँ व्यवस्था ल्याइनुपर्ने आवश्यकता छ ।’ 

यही कुरा बुझेका गभर्नर महाप्रसाद अधिकारी पनि पछिल्लो समय सेयर धितो कर्जाको सीमा पुनरविचारको विषयमा सकारात्मक देखिएका स्रोतहरु दाबी गर्छन् । 

अर्थमन्त्रीको निजी सचिवालयका एक सदस्यको दाबीलाई आधार मान्ने हो भने अब बस्ने नेपाल राष्ट्रबैंकको बोर्ड बैठकबाट १२ करोडको क्याप हट्छ । ‘सेयर बजारका लगानीकर्ताको मनोबल नउकासी भएकै छैन ।’ ती अधिकारीले भने–‘राष्ट्रबैंक नेतृत्व समेत पछिल्लो समय यो विषयमा सकारात्मक छ । व्यक्तिगतको हकमा १२ करोडको क्याप बढेर २० वा २५ करोड पुग्नसक्छ भने संस्थागतको क्याप हटाउने नै भन्नेछ ।’ 

गभर्नर भन्छन्- साथीहरुले मन्थन गर्नुहुँदैछ
यसैबीच, राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बिजशालासँग कुरा गर्दै १२ करोडको सेयर धितो कर्जाको क्यापको विषयमा आफूहरु कुनै निर्णयमा नपुगिसकेको जानकारी दिए । 

‘अहिले नै कुनै निर्णय भइसकेको छैन । तर साथीहरुले मन्थन सुरु गर्नुभएको छ ।’ उनले भने–‘केही निश्कर्ष निस्किएपछि यहाँहरुलाई पनि जानकारी हुन्छ ।’ 

उनले राष्ट्रबैंकको बोर्ड बैठक प्राय बसिरहने उल्लेख गर्दै यो साता पनि बसेमा त्यो ठूलो कुरा नभएको बताए । 

गभर्नरको यो भनाईले समेत १२ करोडको क्याप संसोधनको विषयमा केन्द्रीय बैंकभित्रै पनि विमर्श हुन थालेको देखिन्छ । यो विषयलाई स्वयम् गभर्नरले पनि पछिल्लो समय प्राथमिकता दिन थालेका प्रष्टिन्छ।