काठमाण्डौ । स्वरोजगार लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई डबल धमाकाको अफर दिने भएको छ । यो लघुवित्तले ३०.४ प्रतिशत बोनस र सेयर ५० प्रतिशत हकप्रदको अफर एकैसाथ घोषणा गरेको हो । 

सो लघुवित्तले आइतबार नेपाल स्टक एक्सचेञ्जमा एक सूचना प्रकाशित गर्दै कम्पनीको हालै बसेको १२८ औं संचालक समिति बैठकले ३०.४ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको जनाएको हो । बोनस सेयरको साथमा कर प्रयोजनका लागि १.६ प्रतिशत नगद लाभांशको समेत प्रस्ताव गरिएको छ । आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट बोनस सेयरको प्रस्ताव गरिएको कम्पनीले स्पष्ट पारेको छ । 

कम्पनीको सोही संचालक समिति बैठकले आफ्ना सेयरधनीलाई ५० प्रतिशत हकप्रद दिने प्रस्ताव समेत पास गरेको छ । बोनस सेयरको निश्कासनपछि हकप्रद भर्न पाइने व्यवस्था मिलाइनेछ । 

लगानीकर्ताका लागि आएको एकसाथको डबल धमाकाको प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभामा पठाइनेछ । दुवै ठाउँबाट प्रस्ताव स्वीकृत भए घोषित बोनस सेयर, नगद लाभांश र हकप्रद यो लघुवित्तका सेयरधनीले प्राप्त गर्ने प्रक्रियाको थालनी हुनेछ । 

गत वर्ष पनि यो लघुवित्त कम्पनीले ३४.२० प्रतिशत बोनस सेयर र सत प्रतिशत(एक बराबर एकको अनुपातमा) हकप्रद उपलब्ध गराएको थियो । 

स्वरोजगार लघुवित्त विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा २ करोड ४७ लाख खूद नाफा आर्जन गरेको छ । यसको हालको चुक्तापूँजी ५ करोड ३६ लाख रुपैयाँ रहेको छ । बोनस सेयरको व्यवस्थापनपछि चुक्तापूँजी ६ करोड ९८ लाख रुपैयाँ पुग्नेछ । बोनस सेयरपछि हकप्रद निश्कासन हुने र त्यसको समेत व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी बढेर १० करोड ४८ लाख रुपैयाँ पुग्नेछ ।