- अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का निवर्तमान अध्यक्ष भीष्मराज ढुङ्गानाले केही स्वार्थ समूहको प्रभावमा परेर सर्वोच्चमा रिटमाथि रिट हाल्न थालेका छन्। 

ढुङ्गानाले गत वैशाख २१ गते प्रधानमन्त्री र अर्थमन्त्री, धितोपत्र बोर्डको नयाँ अध्यक्ष सिफारिस समिति र नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई विपक्षी बनाई सर्वोच्चमा नयाँ रिट दर्ता गराएका छन्। 

ढुङ्गानाले आफूले दर्ता गरेको रिट सर्वोच्चमा विचाराधीन भएको अवस्थामा अर्को रिट दर्ता गरेका हुन्। उनले यसअघि ७ कार्तिक २०७८ मा सरकारविरुद्ध र २३ भदौ २०७८ मा आफूमाथिको छानबिन रोक्नुपर्ने मागसहित सर्वोच्च अदालतमा हालेको रिट अझै विचाराधीन छ। उनले यसपटकको रिटमा भने आफूलाई बोर्ड अध्यक्षबाट बर्खास्त गर्ने निर्णय तत्काल रोकी पदमा बहाल गर्ने आदेश हुनुपर्ने मागदाबी पेश गरेका छन्।

ढुङ्गानाले एउटै विषयलाई लिएर पटक–पटक सर्वोच्चमा रिट हाल्नु पछाडिको कारण चलखेल रहेको स्रोतहरुले दाबी गरेका छन्। कुनै स्वार्थ समूहको निहीत स्वार्थ पूरा गर्न उनी प्रयोग भइरहेका समेत देखिएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एप्लिकेशन प्रोग्राम ईन्टरफेस(एपिआइ) पोलिसी संसोधनसहित बोर्डबाट स्वीकृत गरेको छ। संशोधनसहित पारित भएको पोलिसीमा बोर्डले स्वार्थ बाझिने भन्दै नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को नेप्से अनलाइन सिस्टम (नट्स) तयार गर्ने भेन्डर कम्पनीले नयाँ टिएमएससँग सम्बन्धित कुनै पनि काममा सहभागिता जनाउन नपाउने बुँदा थप गरेको छ। पारित भइसकेको सो पोलिसीमा भेन्डर कम्पनीको अन्य कुनै पनि कम्पनीमा लगानी भएमा उक्त कम्पनीले पनि नयाँ टिएमएस सञ्चालन गर्न नपाउने बुँदा थपिएको छ।

उक्त एपीआइ पोलिसी बोर्डबाट संशोधनसहित पास भएसँगै नेप्सेको नट्स निर्माण गर्ने भेन्डर कम्पनी वाईको साथै वाईकोमा सेयर भएका अन्य कम्पनीहरूले नयाँ टिएमएस सञ्चालन गर्न नपाउने भएका छन्। अहिले वाईकोले नट्स साथै टिएमएस दुवै सञ्चालन गरिरहेको छ।  

बोर्डबाट उक्त पोलिसी पारित भएसँगै वाईकोले सफ्टवेयर निर्माणका लागि सहकार्य गरिरहेका कम्पनीहरु वाईको सोल्युसन र ई–सेयर सोल्युसनले पनि टिएमएस निर्माण गर्न पाउने छैनन्। स्रोतकाअनुसार वाइकोसहितका कम्पनीहरु मिलेर बनेको ग्रुपले भारतस्थित टाटा कम्पनीसँग सहकार्य गरी नयाँ टिएमएस ल्याउने प्रक्रिया नै अघि बढाइसकेको थियो । तर, यही बेला बोर्डले पोलिसी परिवर्तन गरिदिएपछि सो समूहको योजनामा ढुंगाना अगाडि बढिरहेका देखिएको छ।  

वाईकोमा कसको लगानी छ ?

गत फेब्रुअरी २०२१ मा वाईको कम्पनीमा १६.६७ प्रतिशत हिस्सा र ई–सेयर सोल्युसनको ८३.३३ प्रतिशत हिस्सासहित वाईको सोल्युसन कम्पनी स्थापना भएको थियो। वाईकोमा भने ई–सेयर सोल्युसन र दिपेश प्रधानको लगानी रहेको छ।

त्यस्तै ई–सेयर सोल्युसनमा स्विफ्ट टेक्नोलोजी, सिडीएससीका निवर्तमान सिइओ देवप्रकाश गुप्ता,  दिपेश प्रधान, दिपक शर्मा पोख्रेल, सिताराम थापा, साई इन्भेस्टमेन्ट, कोर भिजन इन्भेस्टमेन्ट र ब्ल्युफिन इन्भेस्टमेन्ट  लगायतको सेयर हिस्सा रहेको छ।

त्यस्तै स्विफ्ट टेक्नोलोजीमा रगुनाथ भण्डारी, भरतकृष्ण श्रेष्ठ लगायतको लगानी रहेको छ । 

भीष्मराज ढुङ्गानाको रिटको रहस्य

वाईको कम्पनीमा ठूलो हिस्साको सेयर भएका कारण बोर्डबाट पारित भएको एपिआइ पोलिसीअनुसार वाईको सोल्युसन र ई–सेयर सोल्युसनले टिएमएस निर्माण गर्न पाउँदैनन् । 

विगतका दिनहरूमा पनि वाइको सोल्युसन र ई सेयर सोल्युसनमा बढी लगानी रहेको समूहले भीष्मराज ढुङ्गाना बोर्डको अध्यक्ष हुँदा एपीआइ पोलिसीमा लबिङ गर्दै आएको बोर्डका उच्च अधिकारीहरू बताउँछन्। ती अधिकारीका अनुसार बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई पनि आफू अनुरूप एपीआइ पोलिसी संसोधन गर्न सो समूहले दवाब दिएको थियो। 

बोर्डले पारित गरेको एपीआइ पोलिसीअनुसार सो व्यापारिक समूहले टिएमएस निर्माण गर्न नपाउने भएसँगै अध्यक्ष हमालमाथि दवाब सिर्जना गर्न सरकारले बर्खास्त गरेका निवर्तमान अध्यक्ष भीष्मराज ढुङ्गानालाई प्रयोग गरी रिटमाथि रिट दायर गर्न लगाउने खेल भइरहेको बोर्डका अधिकारी दाबी गर्छन्। 

‘अदालतमा विचराधिन मुद्दामा बारम्बार रिट हाल्न आवश्यक छैन’ ती अधिकारी भन्छन्, ‘निश्चित स्वार्थ समूहले बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गानालाई रिट हाल्न लगाई बोर्ड अध्यक्षलाई पद नै जानसक्छ भनेर धम्काउन खोजिएको बुझिन्छ। त्यसैले यस पटकको रिटमा अध्यक्ष हमाललाई पनि विपक्षी बनाइएको छ।’

के भन्छन् हमाल ?

बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमाल भने आफू सधैँ न्युट्रल भएर काम गर्ने बताउँछन्। एपीआइ पोलिसी बोर्डले बनाएको टास्क फोर्समा वृहत् छलफल पश्चात् पास गरिएकाले अहिलेसम्मको नै उत्कृष्ट पोलिसी आएको हमालको दाबी छ। 

‘स्वार्थ समूहहरूलाई नराम्रो लागेको हुन् सक्छ। फ्री कम्पिटिसन हुनुपर्छ भन्ने मेरो मान्यता हो’ हमाल भन्छन्, ‘टास्क फोर्समा रहेका बोर्ड, सिडीएससी, नेप्से, ब्रोकर लगायतको प्रतिनिधिबीच वृहत् छलफल पश्चात् बोर्ड सञ्चालक समितिमा ३ दिन थप छलफल भएपछि मात्र पोलिसी पारित गरिएको हो।’

नेप्सेको मुटु(नट्स) चलाउने कम्पनी र टिएमएस चलाउने कम्पनी एउटै हुँदा सूचनाको दुरुपयोग हुने सम्भावना उच्च हुन्छ। त्यसैले नट्स र टिएमएस चलाउने कम्पनी फरक–फरक हुन् आवश्यक छ। ‘अहिले सम्म भने नट्स र टिएमएस एउटै कम्पनीले चलाउँदा  गलत भइरहेको थियो’, –हमालले भने।