– मनीष सोती

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणबाट हकप्रद सेयर जारी गर्न सैद्धान्तिक स्वीकृति पाएका आधा दर्जन बढी बीमा कम्पनीले अझै पनि प्रक्रिया अघि बढाउन सकेका छैनन्। 

प्राधिकरणले मर्जरमा गएर पनि न्यूनतम चुक्तापुँजी नपुगेका बीमा कम्पनीहरुलाई सहुलियतमा हकप्रद निष्कासन गर्न दिने निर्णय गरेको थियो। तर, यता बीमा कम्पनीहरुमा भने हकप्रद जारी गर्ने मनसाय नभएको देखिएको छ। 

मर्ज भएर चुक्तापुँजी नपुगेका बीमा कम्पनीहरुले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाउन सकेका छैनन्। प्राधिकरणका अनुसार ती कम्पनीहरुले अझैसम्म पनि हकप्रद निष्कासनका लागि प्राधिकरणमा प्रस्ताव पेस गरेका छैनन्। 

‘हामीले मर्जरमा जाने केही कम्पनी र आफैँ पुँजी बढाउन प्रयास गर्ने केही कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न दिने भनिरहेका छौँ, बीमा कम्पनीहरुले नै हकप्रद जारी गर्नेसम्बन्धी प्रस्तावपत्र प्राधिकरणमा पेस गरेका छैनन्’, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘यसअघि बीमा प्राधिकरणले करिब १ दर्जन बीमा कम्पनीलाई हकप्रद निष्कासन गर्न दिने निर्णय गरिसकेको छ तर आधा दर्जन बढी कम्पनीले आफूलाई कति प्रतिशत हकप्रद जारी गर्न आवश्यक छ, त्योसम्बन्धी प्रस्ताव पेस गरेका छैनन्।’ 

प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले हालसम्म कति प्रतिशत हकप्रद जारी गर्ने र सो प्रतिशत हकप्रदपश्चात कम्पनीको पुँजी यति पुग्ने भन्ने खालको क्यापिटल प्लान प्राधिकरणमा पेस गरेका छैनन्। ‘कम्पनीहरुले सम्पूर्ण विवरणसहित यति प्रतिशत हकप्रद जारी गर्छु भनेर प्रस्तावसहित आएकै छैनन्, हामीले कुन कम्पनीलाई के आधारमा हकप्रद जारी गर्न दिने त ?’, पौडेलले भने, ‘प्राधिकरणले प्रस्तावसहित आएका कम्पनीहरुलाई कम्पनीको वित्तीय अवस्था लेखाजोखा गरी हकप्रद जारी गर्न स्वीकृति दिइरहेको छ।’

यसअघि प्राधिकरणले मर्जरमा गई पुँजी नपुगेका बीमा कम्पनीहरु सूर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा जीआईसी इन्स्योरेन्स र युनाइटेड अजोडलाई हकप्रद जारी गर्न दिने निर्णय गरेको थियो। साथै, मर्जरमा नगई आफैँ पुँजी पुर्याउन प्रयास गर्ने कम्पनी एसियन लाइफ, नेको इन्सुरेन्स, एनएलजी इन्स्योरेन्स र एलआईसी नेपाललाई पनि हकप्रद जारी गर्न प्राधिकरणले निर्णय गरेको थियो। 

प्राधिकरणबाट अन्तिम स्वीकृति पाइसकेका एलआईसी नेपाल, एनएलजी इन्स्योरेन्स र नेको इन्सुरेन्सले भने हकप्रद निष्कासनको प्रक्रिया अघि बढाइसकेका छन्। एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासनसम्बन्धी निवेदन पेस गर्ने तयारी गरेका छन् भने नेको इन्सुरेन्सले सोसम्बन्धी प्रस्ताव विशेष साधारणसभाबाट पारित गरिसकेको छ। 

प्राधिकरणका अनुसार ती तीन कम्पनीबाहेक अन्य कम्पनीले हालसम्म पनि प्रतिशत तोकेर हकप्रदसम्बन्धी प्रस्ताव प्राधिकरणमा पेस गरेका छैनन्। बीमा कम्पनीहरुले पुँजी वृद्धिका लागि यति प्रतिशत हकप्रद जारी गर्ने भनेर प्रस्ताव प्राधिकरणमा पेस गरेमा मात्रै प्रक्रिया अघि बढ्ने पौडेलले बताए।