काठमाण्डौ । भर्खरै विद्युत नियमन आयोगबाट ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अन्तिम स्वीकृति पाएको रिडी पावर कम्पनीको नाफामा पहिरो गएको छ। 

कम्पनीले आज आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार चौथो त्रैमासमा कम्पनीले ४ लाख ५६ हजार रुपैयाँमात्रै नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९९.९२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५४ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री र अन्यबाट हुने आम्दानी ३७ करोड १२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको त्यस्ता आम्दानी १ अर्ब १ करोड रुपैयाँ रहेको थियो। यो हिसाबले आम्दानी पनि ६३.२७ प्रतिशतले घटेको छ। 

बैंकको ब्याजमा वृद्धि हुन जाँदा खुद आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ। त्यस्तै इवा खोला जलविद्युत आयोजनामा बाढीका कारणबाट क्षतिग्रस्त भई आम्दानी प्राप्त नभएको पनि कम्पनीले स्पष्ट पारेको छ। 

चुक्तापुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १ करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ५४ करोड ७६ लाख रुपैयाँ थियो। रिजर्भ पनि ९६.८० प्रतिशतले घटेको छ। 

समीक्षा अवधिमा कम्पनीको ईपीएस ०.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०५.४५ रुपैयाँ रहेको छ।