काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको छ। 

अरुण भ्याली हाइड्रोपावरले चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति माग्दै सेबोनमा गत साउन २४ गते निवेदन दिएको हो। सेबोनले अनुमति दिएमा यो कम्पनीले १ः१ अनुपातमा हकप्रद ल्याउनेछ। 

कम्पनीको चुक्तापुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरका कुल १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ। 

कम्पनीले हकप्रद सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.)को निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने निर्णय गरेको छ। 

यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ।

अरुण भ्याली हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।