काठमाण्डौ । हकप्रद निष्कासनका लागि एकैपटक चारवटा जलविद्युत कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड(सेबोन)सँग अनुमति मागेका छन्। 

ती कम्पनीहरुले निवेदन दिँदै सेबोनसँग हकप्रद निष्कासनका लागि अनुमति मागेका हुन्। यसरी हकप्रदको अनुमति माग्नेमा लिबर्टी इनर्जी, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत र बरुण हाइड्रोपावर कम्पनी छन्। 

आँखुखेला जलविद्युत चुक्तापुँजीको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति मागेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० कित्ता हकप्रद जारी गर्ने तयारी गरेको छ। यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ। 

यसैगरी बरुण हाइड्रोपावर र ङादी पावरले चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रदको प्रक्रिया अगाडि बढाएका छन्। सेबोनले अनुमति दिएमा बरुण हाइड्रोपावरले १०० अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता र ङादी ग्रुप पावरले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख १२ हजार ७९२.२३ कित्ता हकप्रद बिक्री खुला गर्नेछ। 

हकप्रद बिक्री प्रबन्धमा बरुण हाइड्रोपावरको आरबीबी मर्चेन्ट बैंकिङ र ङादी ग्रुप पावरको सिद्धार्थ क्यापिटल रहेका छन्। 

उता लिबर्टी इनर्जीले भने चुक्तापुँजी ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ। अनुमति पाएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ। 

यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।