काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले हकप्रद सेयर ल्याउने भनेकै कमजोर कम्पनीले रहेको तर्क गरेका छन्। 

वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा सेबोनले आज बिहान काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रम सकिएपछि बाहिरिने क्रममा लगानीकर्ताले सेबोन अध्यक्ष हमाललाई घेराउ गर्दै सेयर बजार सुधारका लागि नीतिगत व्यवस्था परिमार्जनका लागि पहल गरिदिन आग्रह गरेका थिए। 

लगानीकर्ताहरुले सेबोन अध्यक्ष हमालसँग सेयर धितो कर्जामा १२ करोडको क्याप हटाउन पहल गरिदिन र जथाभावी हकप्रद सेयर तथा प्रिमियममा आईपीओको अनुमति नदिन आग्रह गरेका थिए। उनीहरुले यसरी जथाभावी हकप्रद र प्रिमियममा आईपीओ ल्याउन दिँदा मागभन्दा आपूर्ति बढेर बजार नराम्ररी प्रभावित भएको गुनासो गरेका थिए। 

जबाफमा अध्यक्ष हमालले आफूले १२ करोडको क्याप हटाउन अर्थमन्त्री र गभर्नरसँग कुराकानी गरेको बताए। ‘यसमा मैले केही गर्न मिल्दैन, यो विषयलाई अर्थमन्त्री र गभर्नरले नै सेटल गर्नुपर्छ’, उनले भने। 

लगानीकर्ताले उठाएका हकप्रद र प्रिमियममा आईपीओका विषयमा भने अध्यक्ष हमालले हकप्रद ल्याउने भनेकै कमजोर कम्पनीले रहेको बताए। यद्यपि, यस विषयलाई धितोपत्र बोर्डले गम्भीरताका साथ लिएको पनि उनले लगानीकर्ताहरुलाई आश्वास दिए।