काठमाण्डौ । सिभिल बैंकलाई प्राप्ति गर्ने प्रक्रिया स्वीकृत गर्दै हिमालयन बैंक लिमिटेडको ३० औँ वार्षिक वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सोल्टी होटेलमा बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाबाट सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताब सर्वसम्मतिले पारित गरेको छ।
अध्यक्ष श्रेष्ठले साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन पढी प्रस्तुत प्रस्तावहरुमा छलफल गरी अनुमोदनका लागि प्रस्तुत गरेका थिए। उनले बैंकका निवर्तमान अध्यक्ष तथा संस्थापकहरु हिमालय शमशेर राणा, स्व. नरसिंहबहादुर श्रेष्ठ, स्व. मोहन गोपाल खेतान, मनोजबहादुर श्रेष्ठ, तुलसीप्रसाद गौतमलगायत सञ्चालक समितिका सदस्यहरुलाई बैंक स्थापनाकालदेखि देशको एक सबल र उत्कृष्ट बैंक बनाउन पुर्याएको योगदानका लागि विशेष धन्यवाद दिए।
सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदनसहित उक्त आर्थिक वर्षको नाफाबाट चुक्तापुँजीको ८% बोनस सेयरले हुने जम्मा रु. १.०३ अर्ब तथा ११.११% नगद लाभांशले (करसहित) हुने जम्मा रु. १.४४ गरी कुल १९.११% लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ। सभाले विजयबहादुर श्रेष्ठलाई निर्विरोध रुपमा सर्वसाधारण सेयरधनीका तर्फबाट संचालक समितिमा निर्वाचित गरेको छ।
सभाबाट हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८०.२८ (सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउने) सेयर आदानप्रदान अनुपातमा प्राप्ति गर्ने प्रस्तावलगायतका अन्य प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्तिपश्चात ‘हिमालयन बैंक लिमिटेड’कै नाममा एकीकृत कारोबार गर्नेछ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात बैंकको कुल अधिकृत पूँजी रु. २६ अर्ब हुनेछ भने जारी तथा चुक्तापुँजी रु. २१.६५ अर्बभन्दा बढी हुनेछ। प्राप्तिपश्चात बैंकको कुल पूँजीकोष रु. ३६.६९ अर्बभन्दा बढी हुनेछ। बैंकको कुल शाखा सञ्जाल १८९, विस्तारित काउन्टर १९ र एटीएम संख्या २६२ पुग्नेछ।
यस प्राप्तिले नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्तिसम्बन्धी नीतिलाई आत्मसाथ गर्दै बैंकिङलगायत पूरा राष्ट्रको वित्तीय विकासमा योगदान पुर्याउनेमा विश्वास बैंकले लिएको छ। यसका साथै प्राप्तिपश्चात पनि आफ्ना सेयरधनी, ग्राहक तथा शुभचिन्तकले उत्तिकै माया, विश्वास र साथ प्रदान गर्नेछ भन्ने कुरामा पूर्ण विश्वस्त छ।
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago