काठमाण्डौ । निकै ठूलो विवादमा परेको भए पनि हिमालयन रि इन्स्योरेन्सको आईपीओले सुखद ओपनिङ गरेको छ । 

यो कम्पनीले प्रिमियम दरमा हिजोदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको थियो ।

कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा पहिलो दिन सोमबार ४ हजार ११ जना आवेदकले ३ लाख ५१ हजार कित्ता खरीदका लागि आवेदन दिएका छन् । 

सिडीएसीकाअनुसार पहिलो दिन साँझ ५ बजेसम्म ७२ करोड ४८ लाख बढीको खरीद आवेदन परेको छ । 

हिमालयन रि इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निश्कासन खुलाएको हो । 

पहिलो चरणमा खुलाइएको निश्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउनेछन् । 

धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार हिमालय रि इन्स्योरेन्सले कुल जारी पूँजी रु। १० अर्बको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँमा प्रिमियम समेत थप प्रतिकित्ता रु। २०६ ले गणना गर्दा कुल ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ । सोमध्ये १० प्रतिशत अर्थात ३० लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्याइएको हो । 

विदेशमा काम गर्ने नेपालीहरुले यो कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

आईपीओ खरीदका लागि मंसिर १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । 

यो कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सेटिङमा प्रिमियममा आईपीओ निश्कासन गर्न दिइएको विषय निकै विवादास्पद छ । कम्पनीको अवस्था खासै सन्तोषजनक नभए पनि यसका प्रमोटरहरुलाई सर्वसाधारणबाट पैसा संकलन गर्ने अवसर प्रदान गर्न अध्यक्ष हमालले गडबडीपूर्ण ढंगले स्वार्थप्रेरित निर्णय गरेको विषयमा विवाद हुँदै आएको छ । 

यो कम्पनीको आईपीओ रोक्न केही समयअघि संघीय संसदको अर्थसमितिले निर्देशन दिए पनि पछि पुनः सेटिङ मिलाइएपछि निश्कासन गरिएको हो । 

कम्पनीले प्रकाशन गरेको विवरणपत्र अनुसार यसको २०८० असार मसान्तसम्मको अपरिस्कृत विवरणअनुसार प्रतिसेयर नेटवर्थ रु. ११०.९२ रहेको छ । प्रतिसेयर आम्दानी ६।३२ रुपैयाँ मात्र छ भने सो अवधिसम्म ४४ करोड २४ लाख मात्रै नाफा छ । 

कम्पनीले आर्थिक वर्ष २०८०-८१ मा प्रतिसेयर नेटवर्थ रु. १४९.७१, इपीएस १०.२६ रुपैयाँ र नाफा १ अर्ब बढी हुने प्रक्षेपण गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०८१-८२ प्रतिसेयर नेटवर्थ १६५.२३ रुपैयाँ, इपीएस १५.५२ रुपैयाँ र नाफा १ अर्ब ५५ करोड तथा आ.ब. ०८२-८३ मा प्रतिसेयर नेटवर्थ १८८.०९ रुपैयाँ, इपीएस २२.८६ रुपैयाँ र नाफा २ अर्ब २८ करोड हुने प्रक्षेपण गरिएको छ ।