काठमाण्डौ । निकै ठूलो विवादमा परेको हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज(बुधबार)देखि सर्वसाधारणका लागि निश्कासन भएको छ । 

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको हो । 

कम्पनीको कुल जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ । त्यसको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निश्कासन गर्ने योजनाअनुरुप कम्पनीले यसअघि नै २ प्रतिशत कर्मचारीलाई, १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली तथा ५ प्रतिशत म्युचुअल फण्डहरुलाई बिक्री गरिसकेको छ । ती सबैलाई बाँडफाँड गरी बाँकी रहेको कित्ता सर्वसाधारणका लागि खुलाइएको हो । 

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । 

छिटोमा पुस १ गतेसम्म आईपीओ खरीदका लागि आवेदन दिन सकिने निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । 

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिंग लिमीटेडबाट निर्मित मेरो शेयर सफ्टवेयरमा गएर समेत आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । 

कम्पनीले चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १०.२६ रुपैयाँसम्म हुने प्रक्षेपण गरेको छ । अर्को वर्ष १५.५२ तथा आर्थिक वर्ष ०८२-८३ मा २२.८६ रुपैयाँ इपीएस हुने उसको दाबी छ ।