काठमाण्डौ । मुलुकमा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा २ खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.१ प्रतिशतले वृद्धि भई २२८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

 समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत/नयाँ)  लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४  हजार  ४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२  हजार  ४ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई २५१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो । 

 चालू आवको  यो अवधिसम्ममा शोधनान्तर स्थिति २३ अर्ब ५० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा थियो ।