काठमाण्डौ। विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट  धमाधम लाभांश घोषणा गर्न थालेका छन् ।

जसमध्ये विभिन्न लघुवित्त कम्पनीहरुले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

लगानीकर्ताहरुले निक्कै चासोका रुपमा लघुवित्त कम्पनीको लाभांशलाई लिने गरेका छन् । यो वर्ष लघुवित्त कम्पनीले  अघिल्लो आर्थिक वर्षकै जसरी लाभांश दिन्छन् कि अझ घटाएर दिन्छन् भन्नेमा लगानीकर्ता प्रतिक्षामा बसेका छन् ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५५वटा लघुवित्त कम्पनीहरु सूचीकृत रहेका छन् । जसमध्ये हालसम्म दुई वटा लघुवित्त कम्पनीले मात्र शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

जसमा युनिक लघुवित्त वित्तीय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

युनिक लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

त्यसैगरी, आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ८० को नाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८.६० प्रतिशत बोनस सेयर  र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त कम्पनीले अघिल्लो आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर  र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

यी दुई वटै कम्पनीको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण हुनेछ।

गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने सूचीमा बैंकपछि लघुवित्त कम्पनीहरु अगाडि देखिएका छन् ।

यतिखेर लाभांशको सिजन शुरु भएपनि बजारमा सकारात्मक प्रभाव पर्न सकेको छैन। लाभांश सिजनमा बजार बढ्ने गरेकोमा नेप्सेले स्पष्ट दिशा समात्न नसक्दा लगानीकर्ता अन्यौलमा छन् ।