काठमाण्डौ । चालु आर्थिक वर्षको ३ महिना (असोज मसान्तसम्म) धितोपत्र बजार पुँजीकरण ७ प्रतिशतले बढेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ३ महिनाको तथ्यांकले यस्तो देखाएको हो। २०८० असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ६१ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ। २०७९ असोज मसान्तमा बजार पुँजीकरण २६ खर्ब ७२ अर्ब ७९ करोड रहेको थियो। यो हिसाबले समीक्षा अवधिमा धितोपत्र बजार पुँजीकरण ७.०६ प्रतिशतले बढेको छ। 

२०८० असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीको संख्या २६३ पुगेको छ। सूचीकृत कम्पनीमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८७ जलविद्युत् कम्पनी, २० उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका छन्। २०७९ असोजमा सूचीकृत कम्पनीको संख्या २४२ रहेको थियो।

सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.७ प्रतिशत रहेको छ। 

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १२.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.९ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ।

नेप्सेमा २०८० असोज मसान्तमा सूचीकृत ७ अर्ब ८४ करोड सेयरको चुक्तामूल्य ७ खर्ब ७२ अर्ब ९० करोड रुपैयाँ रहेको छ।