काठमाण्डौ । सरकारले चालू आर्थिक वर्ष २०८०/ ८१ को छ महिनाको अवधिमा आम्दानीभन्दा खर्च बढी गरेको छ ।

उक्त अवधिमा राजस्व र अनुदान गरी ५ खर्ब १८ अर्ब रुपैयाँ आम्दानी गरेको सरकारले ५ खर्ब ६७ अर्ब रुपैयाँ खर्च गरेको छ । यो अवधिमा सरकारले नपुग रकम भने ऋण उठाएर खर्च गरेको छ ।

त्यस्तै चालू आवको अर्धवार्षिक समीक्षा अवधिको पुस मसान्तसम्ममा मुलुकको बजेट घाटा भने ४८ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ बराबर रहेको छ । 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत आम्दानी र ३२.३५ प्रतिशत मात्र खर्च भएको छ । 

यसैगरी, सरकारले चालू आवका लागि कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य लिएको छ ।

उक्त कार्यालयका अनुसार पुस मसान्तसम्ममा ५ खर्ब १८ अर्ब १५ करोड ५६ लाख रुपैयाँ बराबर राजस्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत बराबर हो ।

उक्त अवधिमा कर राजस्वतर्फ ३३.९८ प्रतिशत अर्थात् ४ खर्ब ४३ अर्ब ५५ करोड २० लाख रुपैयाँ संकलन भएको छ ।

गैरकरतर्फ वार्षिक लक्ष्यको ४५.२३ प्रतिशत अर्थात्  ५२ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ बराबर असुली भएको छ ।

चालू आवका लागि कुल ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म ५.५२ प्रतिशत अर्थात् २अर्ब ७५ करोड ८० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिइएको छ ।

चालू आवका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा ५ खर्ब ६६ अर्ब ६२ करोड १३ लाख रुपैयाँ खर्च भएको छ । यो वार्षिक लक्ष्यको ३२.३५ प्रतिशत बराबर हो । 

चालूगत शीर्षकमा कुल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबर बजेट छुट्याइएकामा ३८.३१ प्रतिशत अर्थात् ४खर्ब ३७ अर्ब ३८ करोड १२ लाख रुपैयाँ खर्च भएको छ ।

चालू शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८.३१ प्रतिशत हो ।

त्यसैगरी, पूँजीगत खर्च शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बराबर छुट्याइएकामा १६.३ प्रतिशत अर्थात् ४९ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बराबर बजेट विनियोजन भएकामा २६.२ प्रतिशत अर्थात् ८० अर्ब ४३ लाख रुपैयाँ बराबर खर्च भएको छ ।