– अर्जुन तिमिल्सिना

काठमाण्डौ । अनलाइन प्रविधि आएपछि सेयर बजारमा ५५ लाखभन्दा बढी डिम्याट खाता बनेका छन् भने सक्रिय लगानीकर्ताको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ। अहिले सेयर कारोबार देश तथा विदेश सबैतिरबाट गर्न सकिन्छ। 

योसँगै बढ्दो लगानीकर्ताको सहभागितासँगै नेपालको सेयर बजारमा इन्ट्राडे र अक्सन मार्केटको माग पनि बढ्दै गएको छ। 

बजारको विस्तार र विकास भएसँगै अक्सन मार्केटको अवश्यकता खड्केको स्वयं लगानीकर्ता र ब्रोकर सबै नै स्वीकार गर्छन्। दैनिक हुने क्लोज आउटको समस्या समाधानको एउटा उपाय अक्सन मार्केट नै भएको स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका निवर्तमान अध्यक्ष सन्तोष मैनालीले बताउँदै आएका छन्। यदि कोही लगानीकर्ता क्लोज आउटमा परेको खण्डको अक्सन मार्केट भए त्यहाँबाट सेयर किनेर दिन सकिने उनको भनाइ छ। 

नेपालमा अक्सन मार्केट नहुँदा क्लोज आउटको पैसा लगानीकर्ताले नै बुझाउनुपर्ने बाध्यता छ। 

त्यसैगरी बजारमा प्राविधिक ज्ञान र अल्पकालीन लगानीकर्ताको संख्या बढ्दै जाँदा ब्रोकर हाउसदेखि क्लब हाउससम्म इन्ट्राडे कारोबार गर्न पाउनुपर्ने माग पनि उठ्दै आएको छ। बजारमा केही लगानीकर्ताले नयाँ स्टक एक्सचेन्ज आएको खण्डमा इन्ट्राडे तथा अक्सन मार्केटजस्ता प्रडक्ट आउने सक्ने पनि बताइरहेका छन्।  

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का एक अधिकारीले नेप्सेले इन्ट्राडे तथा अक्सन मार्केटजस्ता प्रडक्ट सञ्चालन गर्न सकिने भन्दै ५ वर्षपहिले एउटा अध्ययन प्रतिवेदन बनाएर नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पठाएको बताए। ‘नेप्सेले इन्ट्राडे र अक्सन मार्केट ल्याउन सकेन भन्ने बुझाइ गलत हो’, ती अधिकारीले भने, ‘हामीले ५ वर्षपहिले नै ती प्रडक्ट ल्याउन सकिन्छ भनेर अध्ययन प्रतिवेदन तयार गरी सेबोनमा पठाएका थियौँ। तर, त्यहाँबाट कुनै सुनुवाइ भएन। मलाई लाग्छ नेप्सेको उक्त रिपोर्ट डस्बिनमा फालियो।’

त्यस्ता प्रडक्ट ल्याउनेमा मुख्य भूमिका सेबोनकै हुने पनि ती अधिकारीको भनाइ छ। ‘यसका लागि सबैभन्दा पहिले सेबोनले विनियामवली संशोधन नै गर्नुपर्छ’, उनले भने, ‘ती प्रडक्ट ल्याउन अहिलेको विनियामवलीले नै रोकेको छ।’

बजारमा नयाँ आउने स्टक एक्सचेन्जले त्यस्ता प्रडक्ट ल्याउँछ भन्ने बुझाइ नै गलत रहेको ती अधिकारी बताउँछन्। ‘किनकि सेबोनले स्वीकृति नदिएसम्म कुनै पनि प्रडक्ट आउन सक्दैन’, ती अधिकारीले भने। 

सेबोनका एक उच्च अधिकारीले नेप्सेले इन्ट्रोडे र अक्सन मार्केट प्रडक्ट ल्याउन सकिने भन्दै अध्ययन प्रतिवेदन तयार पारेर सेबोनमा केही वर्षपहिला पठाएको स्वीकारे। ‘त्यसमा सम्बन्धित विभागले अध्ययन गरिरहेको छ’, ती उच्च अधिकारीले भने।