काठमाण्डौ। विद्युत् विकास विभागले ६३ मेगावाट(मेवा) क्षमताको कोखाजोर जलाशय जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

उक्त जलविद्युत आयोजना सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १, ३ र ५ तथा मरिण गाउँपालिका वडा नम्बर १ र २, काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १, ६ र ८ तथा खानीखोला गाउँपालिकाको वडा नम्बर ४ र ५ र मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १, ५ र ९ मा आयोजना निर्माणका लागि प्रस्ताव गरिएको छ।

आयोजना निर्माण सम्पन्न गर्न २७ अर्ब ७४ करोड ९ लाख ४१ हजार रुपैयाँ लागत अनुमान गरिएको विभागले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ । यस आधारमा आयोजनाको प्रतिमेगावाट लागत ४४ करोड ३ लाख ३२ हजार रुपैयाँ लाग्ने छ ।

यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको क्षेत्र निर्धारण तथा कार्यसूची ११० मेगावाटमा स्वीकृत भएको थियो । तर, आयोजनाको हाइड्रोलोजिकल विश्लेषण तथा लागत परिवर्तन गर्दा क्षमता बढेर ११६ मेगावाट पुगेको थियो ।
 

उक्त आयोजनाको पिकिङ अपरेसन पिरियड ६ घन्टाको रहने र हाल १० घन्टाको  पिकिङ अपरेसन हुँदा जडित क्षमता ६३ मेगावाट हुने छ ।

आयोजनामा ७ हजार ६७५ मिटर लामो हेडरेस सुरुङ निर्माण गरिने छ भने ८२५.२५ मिटर लामो पेनस्टक पाइप रहने छ । त्यसैगरी, आयोजना निर्माण पूरा भएपछि वार्षिक ३०५.९३ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । जसमा सुख्खायाममा ११४.६६ गिगावाट र वर्षायाममा १९१.३० गिगावाट घन्टा विद्युत् उत्पादन हुने वातावरणीय मुल्यांकनमा उल्लेख छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत प्रस्तावित स्वीचयार्डदेखि ७ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको फापरबारी सबस्टेसनमा जोडिनेछ । यो आयोजनाको निर्माण कार्य पूरा गर्न करिब ७ वर्ष लाग्नेछ ।