काठमाण्डौ । नुम्बुर दूधकुण्ड हाइड्रोपावर प्रालिले  ९.४८ मेगावाट(मेवा) क्षमताको तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

कम्पनीले सोखुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका भएर बग्ने दूधकुण्ड खोलाको पानी उपयोग गरेर उक्त क्षमताको जलविद्युत् आयो्जना निर्माण गर्ने तयारी गरिरहेको छ ।

उक्त कम्पनीले नदी प्रवाहमा आधारित(आरओआर) आधारित आयोजना निर्माण गर्न लागेको हो ।उक्त आयोजनाबाट विसं २०८४ साल मंसिरमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको  छ।

यसरी उत्पादित विद्युतलाई ३३ केभी क्षमताको प्रसारण लाइनबाट अपर सोलु खोला जलविद्युत् आयोजनाको स्वीचयार्ड सम्म र त्यहाँबाट २० किमी लम्बाई र १३२ केभी क्षमताको संयुक्त प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको तिंगला सवस्टेशनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य रहेको  छ।

यसैबीच विद्युत् विकास विभागले आयोजना निर्माण हुन लागेको भन्दै आयोजना निर्माण तथा सञ्चालन गर्दा भू-क्षय, वायू प्रदुषणको कारण वातावरणमा प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित रायसुझाव दिन पनि अनुरोध गरेको छ ।

यो आयोजना निर्माण गर्न २ अर्ब १६ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

निर्माणाधीन १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन अन्तर्गत सो क्षेत्रमा २४० मेगावाटका जलविद्युत् आयोजना निर्माणको विभिन्न चरणमा छन् । निजी क्षेत्रले अघि बढाएका ०.६ मेगावाटदेखि ८६ मेगावाटसम्मका नौ ओटा आयोजना त्यस क्षेत्रमा निर्माण तथा अध्ययन भइरहेका छन् ।