काठमाण्डौ । सेयर बजारबाट राम्रै कमाइएला भनेर घरखेत समेत धितो राखी ऋण लिएका धेरै लगानीकर्ताहरुको अहिले बिजोग भएको छ । 

सेयर बजारमा लगानी गरी रातारात धनी हुने सपना देख्नेहरुमध्ये धेरैजसोको पोर्टफोलियो ७० प्रतिशतसम्म घटेपछि समस्या झन्–झन् विकराल बन्न थालेको छ । 

सेयर बजारबाट सर्वश्व डूबिरहँदा रमिते हुनुबाहेक अन्य कुनै विकल्प नभेटेका कतिपय लगानीकर्ताहरु डिप्रेसनजस्ता गम्भीर स्वास्थ्य समस्याको शिकार भएका छन् । लगानीकर्ताका कतिपय नेताको दाबी मानिदिने हो भने कतिपयले सेयर बजारमा डूबेकै कारण आत्महत्याको बाटोसम्म रोज्ने गलत काम गरिरहेका छन् । तर पनि राज्य तथा अन्य जिम्मेवार निकाय बजारको समस्या समाधान गर्न, लगानीकर्ताको मनोबल बढाउने नीति बनाउनतर्फ गम्भीर नदेखिएको उनीहरुको भनाई छ । 

बजारमा लगानी गरेर आफ्नो सम्पत्ति डूबाउने सयौं लगानीकर्ताका प्रतिनिधिपात्र हुन् नानीबाबु खरेल । उनी नेपाल सेयरधनी संघका अध्यक्ष पनि हुन् । उनले आफूजस्तै समस्यामा फसेका लगानीकर्ताहरु धमाधम डिप्रेसनको शिकार बन्न थालेका भन्दै चिन्ता व्यक्त गरे । 

‘अधिकांश साथीहरुले सेयरबजारमा घरखेत बन्धक राखेर लगानी गरेका छन् । ७० प्रतिशतभन्दा बढी सम्पत्ति गुमिसकेको छ । मान्छे झुण्डिएर मर्नुपर्ने विकराल अवस्था निम्तिन थालिसकेको छ ।’ उनले भने–‘कतिपयले विष सेवन गरेका खबर सुन्छौं । कतिपय अस्पतालको छतबाट हामफाल्न थालिसके ।’ 

आफूले पनि घरजग्गा धितो राखेर निकालेको ऋणले सेयर बजारमा लगानीका लागि लिएको ऋणको ब्याज तिरिरहेको तीतो वास्तविकता उनले सुनाए । ‘अब त घर जाँदा समेत टर्चर हुने अवस्था बनिसक्यो ।’ उनले थपे–‘केटाकेटीको फि कसरी तिर्ने ? बढ्दो महंगीमा कसरी बाँच्ने ? घर कसरी चलाउने ?’ 

साथीहरु दैनिकजसो मर्दैछु, मेरो परिवारको हेरविचार गरिदिनू भन्दै फोन हान्छन् । कोही फलानो ठाउँबाट हामफाल्दैछु भन्छन् । अब त अति भइसक्यो ।

आफूले भोगेको समस्या धेरै लगानीकर्ताको समान समस्या रहेको उल्लेख गर्दै उनले राष्ट्रबैंकका गभर्नरदेखि अर्थमन्त्रीसम्मले पनि आफूहरुको समस्या समाधानमा गम्भीरता नदेखाएको दाबी गरे । ‘हुँदा हुँदा अब सेयर बजारका ठूला भनिएका लगानीकर्ता पनि चूपचाप बसेका छन् । मिलेर आन्दोलन थालौं भन्दा कोही आउँदैनन् ।’ उनले दुखेसो गर्दै भने–‘यो बेला हाम्रो आवाज सुन्ने मिडियाबाहेक कोही छैनन् । अभिभावकको भूमिकामा रहने राज्य समेत हाम्रो गुनासो सुन्न चाहदैन । कसलाई पीडा भनौं ? कोसँग पोखौं हाम्रो व्यथा ?’ 

उनले आफूहरुको कुराप्रति ठूला लगानीकर्ता, अर्थमन्त्री, गभर्नर र प्रधानमन्त्री गम्भीर नबने समस्यामा परेका सेयर लगानीकर्ताले सामूहिक आत्मादहसम्म गर्नुपर्ने अवस्था सिर्जना हुने चेतावनी दिए । ‘यो हाम्रो धम्की होइन । समस्या समाधान पनि नहुने र बजारमा लगाएको लगानी पनि यसैगरी डूब्ने हो भने बाँच्नुको के अर्थ ?’ निराशा र आक्रोशमिश्रित मुद्रामा खरेलले भने–‘गरेर खान पाउनुपर्छ हामीले । हामीले पनि बाँच्न पाउनुपर्छ । साथीहरु दैनिकजसो मर्दैछु, मेरो परिवारको हेरविचार गरिदिनू भन्दै फोन हान्छन् । कोही फलानो ठाउँबाट हामफाल्दैछु भन्छन् । अब त अति भइसक्यो ।’ 

बोल्नेलाई पनि तर्साइयो
खरेलले लगानीकर्ताको पक्षमा आवाज बुलन्द गर्ने केही ठूला र प्रभावशाली लगानीकर्ताहरुलाई समेत राज्यका विभिन्न निकायले तर्साएका र कतिपयलाई खोरमा जाक्ने काम भएकोमा आक्रोश पोखे । 

‘दुई वर्षअघि लगानीकर्ताका सबै संगठन मिलाएर महासंघ बनाउने भनेर बुद्धनगरमा निर्णय गर्यौं । एक भेटेरान लगानीकर्तालाई अध्यक्ष पनि बनाइयो । तर, उनलाई पनि थ्रिटन दिने काम भएछ । त्यसपछि त उहाँले कसैलाई भेट गर्नै चाहनुभएन । लगानीकर्ताको समस्याको विषयमा बोल्नै छाड्नुभयो ।’ खरेलले भने–‘ठूला लोन लिएर बजारमा लगानी गर्ने निर्मल प्रधानहरु पनि चूप छन् । केही बोल्छु भनेर अगाडि सर्ने दीपेन्द्र अग्रवालहरुलाई पनि तर्साइएको छ । भाटभटेनीका मीनबहादुर गुरुङलाई त खोरमै जाक्ने काम गरियो ।’