-अर्जुन तिमिल्सिना

काठमाण्डौ ।लामो समयको रस्साकस्सी र प्रतीक्षापछि नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ ।

सेयर लगानीकर्ता तथा अन्य क्षेत्रले पनि मौद्रिक नीतिको समीक्षालाई नजिकबाट नियालेका छन् ।शुक्रबार सार्वजनिक चालू आर्थिक वर्षको समीक्षामा बजार जानकार तथा विज्ञहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । 

बजार जानकार गोबिन्द प्रसाद घिमिरेले जोखिम भार घटाइनुलाई सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, ‘सेयर बजारमा अहिलेको जोखिमको हिसावले सबै प्रकारको  सेयर कर्जालाई गर्नुपर्ने त १०० नै थियो तर १२५ पनि ठीकै नै हो । किनकी  केन्द्रीय बैंकले क्रमिक रुपमा सुधार गर्दै जाने संकेत गरेको छ । अब यसले पूँजीबजार सकारात्मक हुन्छ । यसले बजारमा माहोल पनि सृजना गर्छ । किनकी ब्याजदर पनि घट्दै छ । पर्याप्त तरलताले  बैंक दर पनि घट्दै गएको छ । सेयर बजारमा मूख्य विषय जोखिम भार नै थियो । हाम्रो लागि यो सकारात्मक हो । अब बजारले बाटो तय गर्छ । ’

राष्ट्र बैंकको मौद्रिक नीतिका कटु आलोचक मुक्ति अर्यालले पनि आजको जोखिम भारको व्यवस्था अन्तरराष्ट्रिय नियम अन्तरगतकै भएको बताए ।

जोखिमको हिसावले १२५ प्रतिशत ठीक हो । संसार भर नै यही हुन्छ । १०० बढी लुज र १५० बढी टाइट भएको उनको तर्क  छ । यसले बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ । मौद्रिक नीतिलाई क्रमिक रुपमा सुधार गर्दै लगिएको भएता पनि अझै खुलस्त हुन नसकेको उनको भनाइ छ । गभर्नर महाप्रसाद अधिकारीले बाध्यताले यस्तो व्यवस्था ल्याएको पनि उनको भनाइ छ ।

त्यसैगरि, शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक बीरेन्द्र विष्टले राष्ट्र बैंकले केही आशा नगरेको अवस्थामा जोखिम भार घटाउनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

उनी भन्छन्, ‘जोखिम भार २५ पैसाले घट्यो । बैंक दरलाई ७.५ प्रतिशतबाट ७ मा झारेको छ । नीतिगत दर पनि ६.५ प्रतिशतबाट ५.५ प्रतिशत आएको छ ।  यो राम्रो हो ।’
 

उनका अनुसार केही ऋणहरुमा कर्जा पुनरसंरचना गर्ने दिने भनिएको छ । यसले गर्दा पनि राष्ट्र बैंकले आफ्ना नीतिलाई विस्तारै खुकुलो पार्दै लगेको भन्ने देखाउँछ । अब नीतिहरु कडा हुँदैनन भन्ने अपेक्षा छ । लगानीकर्ताको मनोबल पनि बढेर जाने र बजार पनि बढ्ने उनको ठम्याई छ ।

उता सेयरधनी लगानीकर्ता संघका महासचिव कमलराज अधिकारीले पनि मौद्रिक नीतिको समीक्षाको स्वागत गरेका छन् । उनी भन्छन्, ‘यसले राष्ट्र बैंकले आफ्ना नीतिहरु विस्तारै खुकुलो गर्दै छ भन्ने बुझिन्छ । हामीले यसलाई अर्थपूर्ण रुपमा लिएका छौ । आशा छ अब बजारमा सकरात्मक माहोल बन्छ ।’ उनका अनुसार त्यो संकेत पनि देखिएको छ ।