– अर्जुन तिमिल्सिना
काठमाण्डौ। पुँजीबजार अहिले भद्रगोल अवस्थामा छ। बजार विस्तार र सुधार गर्नुपर्ने थुप्रै काम अलपत्र परेका छन्।
लामो समयदेखि सेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) पनि नेतृत्वविहीन छ। सेबोन नेतृत्वविहीन हुँदा दैनिक प्रशासनिक कामबाहेक थुप्रै नीतिगत काम ओझेलमा परेका छन्।
सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा संलग्न रहेको प्रमाणित भएपछि सरकारले मंगलबार सेबोन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ। यसअघि ढुंगानालाई अर्थ मन्त्रालयले निलम्बन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सरकारलाई उनले स्पष्टीकरण समेत बुझाएका थिए। तर स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ढुंगानालाई बर्खास्त गर्यो।
नेतृत्व नहुँदा सेबोनले गर्नुपर्ने एपीआई पोलिसीदेखि पीईभीसी, एसएमी (स्माल एन्ड मिडियम) इन्डेक्स, बैंकलाई ब्रोकर लाइसेन्स, ब्रोकरका शाखा विस्तार, कमोडिटी मार्केट तथा सेन्ट्रल केवाईसीजस्ता थुप्रै काम अलपत्र परेका छन्। धेरै प्राविधिक कार्य गर्नुपर्ने भएकोले सेबोन सञ्चालन गर्न राष्ट्र बैंक तथा बीमा समितिजस्तो सहज नरहेको सेबोनमा लामो समय काम गर्दै आएका गरेका नायब कार्यकारी निर्देशक डा. नवराज अधिकारी बताउँछन्। ‘पुँजीबजार बुझेको र काम गर्छु भन्ने अठोट भएको मान्छे सेबोनमा आए बजारको कायपलट नै हुन सक्छ’, उनले भने।
अधिकारीका अनुसार अहिले पुँजीबजारमा धेरै चुनौती छन्। ‘त्यसैले अब सेबोनको नेतृत्वमा आउनेलाई भालुको कम्पट नै फुटाउनुसरह हुनेछ’, उनले भने, ‘यसो भनेर कामै गर्न नसक्ने होइन तर जिरो इन्ट्रेस्ट लिएर बजारको विकास र विस्तारका लागि लाग्ने हो भने धेरै काम गर्न सकिन सम्भावना छ।’
पुँजीबजार धेरै सेन्सेटिभ रहेकोले अब नेतृत्वमा आउनेले बुझेर काम गर्नुपर्ने अधिकारीको भनाइ छ। ‘अब बाँकी कार्यकाल २ वर्ष चानचुन हो, बजार नै नबुझेको मान्छे आएमा बुझ्दा-बुझ्दै समय जान पनि सक्छ’, उनले भने, ‘गर्नुपर्ने कामको चाङ रहेकोले पनि सेबोनको नेतृत्वमा आउने व्यक्ति कुनै व्यक्तिगत तथा संस्थागत चाहनाभन्दा पनि आमलगानीकर्ता र बजारको हितमा काम गर्न सक्ने हुनुपर्छ।’
लगानीकर्ता प्रकाश रजौरे सेबोनमा नेतृत्वमा नैतिकवान र पुँजीबजार बुझेको व्यक्ति आउनुपर्ने बताउँछन्। ‘मुख्य रुपमा राजनीतिक व्यक्तिभन्दा पनि राइट म्यान इन राइट प्लेस हुन आवश्यक’, उनले भने, ‘अब सेबोनको नेतृत्वमा बजारमैत्री मान्छे आउनुपर्छ। मेरो बिचारमा रेवतबहादुर कार्कीजस्तो मान्छे चाहिन्छ।’
बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि पुँजीबजारलाई आधारभूत तथा प्राविधिक रुपमा बुझेको र सकारात्मक सोच भएको मान्छे सेबोनको नेतृत्वमा आउनुपर्ने बताउँछन्। ‘किताब पढेरमात्रै बुझेको भन्दा पनि व्यवहारिक मान्छे चाहिन्छ’, उनले भने।
अर्का लगानीकर्ता टेकेन्द्र क्षेत्री लथालिंग अवस्थामा रहेको पुँजीबजार सुधारका लागि अर्थमन्त्री जनार्दन शर्मालाई कुलमान घिसिङजस्तै नेतृत्व सेबोनमा ल्याउने अवसर रहेको बताउँछन्। ‘ऊर्जामन्त्री हुँदा शर्माले नेपाल विद्युत प्राधिकरणमा कुलमानलाई ल्याएजस्तै देशलाई लोडसेडिङमुक्त गराउन सफल भए’, उनले भने, ‘अब अर्थमन्त्री शर्मालाई कुलमानजस्तै नेतृत्व सेबोनमा ल्याएर पुँजीबजारको कायापलट गर्ने अवसर आएको छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago