काठमाण्डौ । नियामक निकायको सेटिङ र  निकै ठूलो विवादमा परेको हिमालयन रिइन्स्योरेन्सको आईपीओमा अन्तिम दिनसम्ममा करिब ६० प्रतिशतभन्दा बढीको आबेदन परेको छ । 

यो कम्पनीले प्रिमियम दरमा गतसोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको थियो ।कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा सोमबार अन्तिम दिनसम्म ३४ हजार २०६ जना आवेदकले  ४५ लाख ८२ हजार ६७० कित्ता खरिदका लागि आवेदन दिएका छन् । 

सिडीएसीका अनुसार ९४ करोड ४० लाख ३० हजार ०२० रुपैयाँभन्दा बढीको खरिद आवेदन परेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निश्कासन गरेको हो । 
धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँमा प्रिमियमसमेत थप प्रतिकित्ता २०६ रुपैयाँले गणना गर्दा कुल ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ ।

सोमध्ये १० प्रतिशत अर्थात ३० लाख कित्ता श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्याइएको हो । यसपछि सर्वसाधारणमा २ करोड ४९ लाख कित्ता आईपीओ खुला हुनेछ । 

यो कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सेटिङमा प्रिमियममा आईपीओ निश्कासन गर्न दिइएको विषय निकै विवादास्पद छ ।
कम्पनीको अवस्था खासै सन्तोषजनक नभए पनि यसका प्रमोटरहरुलाई सर्वसाधारणबाट पैसा संकलन गर्ने अवसर प्रदान गर्न अध्यक्ष हमालले गडबडीपूर्ण ढंगले स्वार्थप्रेरित निर्णय गरेको विषयमा विवाद हुँदै आएको छ । 

यो कम्पनीको आईपीओ रोक्न केही समयअघि संघीय संसदको अर्थसमितिले निर्देशन दिए पनि पछि पुनः सेटिङ मिलाइएपछि निश्कासन गरिएको हो । हाल यसलाई रद्दको माग गर्दै अदालतमा मुद्दासमेत परेको छ ।