-भक्तराज रसाइली
काठमाण्डौ । नेप्सेमा सूचिकृत कम्पनीहरुले लगानीकर्र्तालाई एउटा लाभांशको लोभ देखाएर त्यसमा संसोधन गर्दै धोका दिने प्रवृति बढ्न थालेको छ ।

सेयरको मूल्य संवेदनशीलतामा खोल्दै लाभांशमा हेलचेक्र्याई गरेपछि कारबाहीको प्रक्रियामा रहेको मञ्जुश्री फाइनान्सकै पद्चाप पछ्याउँदै अन्य कम्पनीहरुले समेत यस्तै बदमासी गर्न थालेका छन् । यो सूचिको पछिल्लो नम्बरमा थपिएको नागबेली लघुवित्त वित्तीय संस्था । 

नागवेली लघुवित्तले २०७५ कात्तिक २६ गते सञ्चालक समितिको २५२औं बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट लगानीकर्ता वितरण गर्ने भनी १६.११ प्रतिशत बोनश शेयर र ०.८६ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्यो । राम्रो बोनस सेयर पाइने लोभले लगानीकर्ताले यो कम्पनीको सेयरमा आँखा चिम्लिएर पैसा हाले । तर, कम्पनीले सो निर्णय उल्टाउँदै २०७५ पुष ९ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको २५४ औं बैठकको हवालाबाट बोनस सेयरलाई घटाएर ९ प्रतिशतमा झार्ने निर्णय गरेको छ र सोही आशयको सूचना नेप्सेको भित्तामा प्रकाशित भएको छ । 

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पुँजीको ९ दशमलव ३८ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ४९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको भनिएको छ । यसको अर्थ प्रष्ट छ ः यो कम्पनीको संचालक समितिले समेत नियामकलाई दोष देखाउँदै सर्वसाधारण लगानीकर्ताहरुलाई धोका दिने काम गर्यो । 

तर, एउटा लाभांश घोषणा गरेर अन्तमा निकै थोरै लाभांश दिने भन्दै यसरी खुलेआम ठगीको उद्घोष गर्ने कम्पनीहरु यो आर्थिक वर्षमा अरु पनि देखिए । एलआईसीएनले ३६ प्रतिशत लाभांशलाई घटाएर १२ प्रतिशत झार्यो भने हालै मञ्जुश्रीले ९ प्रतिशतर्ला घटाएर २ प्रतिशतमा सीमित बनाइदियो ।

आम सेयरधनीहरुलाई सञ्चालक समितिको बैठकद्वारा लाभांश वितरण गर्दा पटकपटक सूचना परिवर्तन गर्ने प्रवृति बढ्न थालेपछि नेप्सेले यस्ता कम्पनीमाथ कडा कारबाही हुनुपर्ने अडान लिएको छ । यसैको उदाहरणको रुपमा हेर्नुपर्छ गत साता यस्तै फट्याई गर्ने मञ्जुश्री फाइनान्सलाई कारबाहीका लागि उसले धितोपत्र बोर्डलाई पत्राचार गरेको छ । बोर्डले यो पत्रमाथि आवश्यक छलफल गरिरहेको र एकदुई दिनमै मञ्जुश्रीमाथि कारबाहीको निर्णय हुने बताइएको छ । मञ्जुश्रीमाथिको कारबाहीको प्रक्रिया नटुंगिदै नागबेलीले लगानीकर्तामाथि ठगीको अर्को श्रृंखला थपेको हो ।

लाभांश घोषणाले मूल्य संबेदनशीलतालाई गम्भीर असर पार्ने हुँदा पछिल्लो समय यसले कम्पनीको नियत र संचालक समितिको बदनियतलाई उजागर गरिरहेको विश्लेषकहरु बताउँछन् ।

मञ्जुश्रीमाथिको संभावित कारबाहीको विषय पीडित सेयरधनीको प्रतिक्षाको विषय बनिरहेको बेला नागबेलीले समेत गरेको ठगीमाथि कस्तो छानबिन र कारबाही हुने हो भन्ने अर्को प्रतिक्षाको विषय समेत जन्माइदिएको छ ।