काठमाण्डौ । धितोपत्र बजारमा मंगलबारदेखि नेपाल फाइनान्स लिमिटेडको सेयर कारोबारमा आउने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार फुकुवासँगै यो कम्पनीको सेयर कारोबारमा आउने भएको हो । कारोबार फुकुवासँगै करिब ५ वर्षपछि यो कम्पनीको सेयर धितोपत्र बजारमा कारोबारमा आउने भएको छ ।

पाँच वर्षअघि २०७१ मंसिर १७ गते नेपाल राष्ट्र बैंकले यो कम्पनीलाई समस्याग्रस्त वित्तीय संस्थाका रुपमा घोषणा गर्दै कारोबार रोक्का गरेको थियो । राष्ट्रबैंकले निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्रदान गर्नेलगायतका कारोबार गर्न नपाउने गरी यो कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको थियो । राष्ट्र बैंककै निर्देशमा नेप्सेले पनि धितोपत्र सूचीकरण स्थगित गरेको थियो ।

गत मंसिर २४ गते राष्ट्र बैंकले यो कम्पनीलाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको हो । राष्ट्र बैंकको गत मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले यो कम्पनीको कारोबार ससर्त फुकुवा गर्ने निर्णय गरेको हो ।

राष्ट्रबैंकले कारोबार फुकुवा गरेसँगै यो कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले धितोपत्र बजारमा सेयर कारोबार फुकुवा गर्न नेप्सेलाई आग्रह गर्नुका साथै २०७६/७७ सम्म नवीकरण शुल्क बुझाएकोले सेयर कारोबार फुकुवा गरेको नेप्सले जनाएको छ ।