काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनको मोडालिटी परिवर्तनलगायतका विषयमा छलफल गर्न आज बुधबार दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ।

कोरोना रोकथामका लागि गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरिएको छ। एकातिर कोरोना संक्रमण दिनादिनु बढिरहेको छ भने अर्कोतिर लामो लकडाउनले व्यापारव्यवसायसँगै जनताको सामान्य जीवनयापन पनि प्रभावित हुनुका साथै दैनिक गुजारामै समस्या देखिन थालेपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकमा यस विषयमा महत्वपूर्ण निर्णय हुने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका एक सदस्यले जानकारी दिए। 

उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्तावसहितको नयाँ मोडालिटी तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ। उक्त मोडालिटीअन्तर्गत दुई सातामा एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउँदै लैजान प्रस्ताव गरिएको छ।

लकडाउन खुकुलो बनाउने विषयमा कोभिड–१९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले आफ्नो प्र्रस्ताव पेस गरिसकेको छ। जसमा लकडाउन ६ चरणमा खुकुलो पार्दै लैजाने मोडालिटीसहितको प्रस्ताव बुझाइएको छ। 

अन्तिममा दुवै प्रस्तावलाई मर्ज गरेर लकडाउन ५ चरणमा खुकुलो बनाउने नयाँ मोडालिटीसहितको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको हो। 

उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ गतेदेखि नै लकडाउन खुकुलो बनाउने प्रस्ताव पेस गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भने देशमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएकोले जोखिम कम भइनसकेको ठहर गर्दै लकडाउन खुकुलो बनाउनु नहुने अडानमा थिए।