काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट्स लिमीटेडले प्रवद्र्धन गरेको दोश्रो म्युचुअल फण्ड लक्ष्मी इक्वीटी फण्डमा लगानीकर्ताहरुले उत्साहजनक ढंगले आवेदन नदिने संकेत देखिएको छ । १ अर्ब मूल्यको १० करोड इकाईमा आवेदन मागिएकोमा पहिलो दिन शुक्रबार अत्यन्त न्यून आवेदन परेको हो । आवेदन पर्ने समय अझै बाँकी रहेकोले यसैलाई निश्कर्ष भने मान्न सकिन्न ।

पहिलो दिन देशभरका संकलन केन्द्रबाट ३ सय ५० आवेदकबाट १ करोड ५ लाख बराबरको प्रस्ताव मात्र परेको छ । संभवत सार्वजनिक निश्कासनहरुको पहिलो दिन न्यून आवेदन परेको यो पनि एउटा घटना हो ।

देशभरबाट यो स्किममा परम्परागत शैलीमार्फत ६२ लाख बढी र आस्वाबाट ४३ लाख रुपैयाँको हाराहारीमा आवेदन परेको लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले जनाएको छ ।

आवेदन दिने समय पहिलो चरणमा बैशाख २६ गतेसम्म र सो अवधिसम्म माग गरे अनुसारको प्रस्ताव नपरे अधिकतम मितिको रुपमा  जेठ ५ गतेभित्र आवेदन दिन सकिने बताइएको छ ।

लक्ष्मी क्यापिटल मार्केटले प्रबन्धन गरेको र लक्ष्मी बैंक लिमीटेडले प्रायोजन गरेको स्किम ७ वर्षे बन्दमुखी म्युचुअल फण्ड हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १ सय देखि अधिकतम १ करोड युनिटसम्मका लागि आवेदन दिनसक्ने व्यवस्स्था मिलाइएको छ । कुल १० करोड इकाईमध्ये १.५० करोड इकाई लक्ष्मी बैंकका लागि र ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।

इच्छुकले नयाँ बानेश्वरस्थित लक्ष्मी क्यापिटलको मुख्य कार्यालय र देशभरका लक्ष्मी बैंकका शाखा कार्यालयबाट आवेदन फारम भर्न सक्नेछन् । आवेदकहरुले आस्वाको अनुमति प्राप्त देशैभरका बैंक तथा बित्तीय संस्थामार्फत समेत स्किममा लगानी गर्न सक्नेछन् ।

लक्ष्मी क्यापिटलले यसअघि नै पहिलो म्युचुअल फण्डको रुपमा लक्ष्मी भ्यालू फण्ड १ संचालन गरिरहेको छ । यो स्किमका चैत अन्तिसम्मको नेट एसेट भ्यालू प्रति इकाई १३ रुपैयाँ ४६ पैसा रहेको छ ।

कहाँबाट दिने आवेदन ?
१. लक्ष्मी क्यापिटल मार्केट लिमीटेड, नयाँ बानेश्वर काठमाण्डौ । सम्पर्क व्यक्ति: विजय महतो, सम्पर्क फोन : ०१-४७८०२२२
२.लक्ष्मी बैंक लिमीटेड, हात्तीसार काठमाण्डौ तथा देशभरका सबै शाखा । सम्पर्क व्यक्ति : अभिष आचार्य । फोन : ०१-४४४४६८४

३. आस्वाको सेवा प्रवाह गर्ने अनुमतिप्राप्त बैंक तथा बित्तीय संस्थाका देशभरका शाखा कार्यालयहरु ।