काठमाण्डौ । कीर्ते काजगपत्रका आधारमा कुमारी बैंकबाट कर्जा प्रवाह प्रकरणमा मूल्यांकनकर्ता (इन्जिनियर) लाई एकतर्फी रुपमा दोषी देखाई पक्राउ गरिएको विरोधमा इन्जिनियरहरु आन्दोलित भएका छन्।

नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए) को अगुवाइमा आजबाट इन्जिनियरहरु आन्दोलित भएका हुन्। विभिन्न मागसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका इन्जिनियहरुले आज कुमारी बैंकको केन्द्रीय कार्यालय धर्ना दिँदै नारावाजी गरेका छन्।

मालपोत कार्यालयबाट भएको कीर्ते दृष्टिबन्धक एवं रोक्काजस्ता कार्यमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एसोसिएसनको वीरगन्ज च्याप्टरका सदस्य डाइनामिक कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन सर्भिसेजका प्रोप्राइटर ई. राजेशकुमार चौरासियलाई गत कात्तिक २२ गते पक्राउ गरी थुनामा राखेको विरोधमा इन्जिनियरहरु आन्दोलित भएका हुन्। उनीहरुले चौरासियलाई निःसर्त रिहा गर्नुपर्ने माग अघि सारेका छन्। 

इन्जिनियरहरुले पहिलो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत गत मंसिर २ गते भेला गरी चौरासियलाई पक्राउ गरेकोमा विरोध जनाएका थिए। आज कुमारी बैंकको केन्द्रीय कार्यालयका साथै च्याप्टरहरुका हकमा सम्बन्धित च्याप्टरहरुले कुमारी बैंकको शाखामा विरोध तथा धर्ना दिएका छन्। 

आन्दोलनको कार्यक्रमअन्तर्गत अब इन्जिनियर मंसिर ८ गते नेपाल बैंकर्स संघको कार्यालयमा धर्ना तथा विरोध कार्यक्रम र च्याप्टरहरुको हकमा सम्बन्धित च्याप्टरहरुको कुमारी बैंकको शाखामा विरोध तथा धर्ना कार्यक्रम गर्नेछ। 

आन्दोलनरत इन्जिनियरहरुले राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७८ अन्तर्गतको धितो मूल्यांकनकर्तासम्बन्धी विशेष व्यवस्थामा परिमार्जन गर्नुपर्ने माग पनि अघि सारेका छन्। यसैगरी आव २०७४/७५ को मौद्रिक नीतिमा व्यवस्था भएबमोजिम यथाशीघ्र चाँडै मूल्यांकन कार्यविधि बनाई लागू गर्नुपर्ने, एनबीए र एनभीएबीच सहमति भएको सर्भिस एग्रिमेन्ट राष्ट्र बैंकले निर्देशिकामा जारी गर्नुपर्नेलगायतका माग पनि अघि सारेका छन्।