काठमाण्डौ । रुस र युक्रेनबीचको विवाद बढ्दै गएको छ। दुई देशबीचको अवस्था युद्धको नजिक पुगेको छ। 

यसैबीच रुसी राष्ट्रपति पुटिनले युक्रेनविरुद्ध सैन्य कारबाही गर्ने घोषणा गरेका छन्। उनले युद्ध टार्न नसकिने बताएका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार रुसका राष्ट्रपतिले युक्रेन पछि हटेन भने युद्ध जारी रहने चेतावनी दिएका छन्। पुटिनले युक्रेनी सेनालाई जतिसक्दो चाँडो हतियार बुझाउन भनेका छन्। अन्यथा युद्धबाट नरोकिने उनले चेतावनी दिएका छन्। 

यसैबीच युक्रेनबाट लगातार विस्फोटको आवाज सुनिएको समाचार छ। एएफपीले राजधानी किभमा ठाउँ–ठाउँमा ठूलो विस्फोटको आवाज सुनिएको जनाएको छ। यसअघि पूर्वी युक्रेनमा गोली चलेको आवाज सुनिएको थियो। सामाजिक सञ्जालमा पनि धेरैले विभिन्न ठाउँमा विस्फोट भएको दाबी गरिरहेका छन्।

रुसी राष्ट्रपति पुटिनले युक्रेनविरुद्ध ‘सैन्य कारबाही’ गर्ने घोषणा गरेलगत्तै युक्रेनमा कैयौँ विस्फोटको आवाज सुनिएको थियो। एएफपीका अनुसार युक्रेनको पूर्वी बन्दरगाह सहर मारिउपोलमा शक्तिशाली विस्फोटको आवाज सुनिएको थियो।

रुसी राष्ट्रपतिको घोषणापछि युक्रेनमा मार्सल ल लागू गरिएको छ। यससँगै रुसी हवाई हमलालाई ध्यानमा राख्दै किभमा साइरन बजिरहेको छ।

युक्रेनले व्यावसायिक हवाई उडानहरु पनि बन्द गरेको छ। – एजेन्सी