काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले धितोपत्रसम्बन्धी नीतिको तर्जुमा जनताको हित हेरेरमात्रै गरिने बताएका छन्। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्न मंगलबार बोर्डमा आयोजित कार्यक्रममा अध्यक्ष हमालले यस्तो धारणा राखेका हुन्। जनाताले परिर्वतन महसुस गर्नेगरी धितोपत्रसम्बन्धी नीति निमार्ण गर्नु नै आफ्नो प्रमुख उद्देश्य रहेको हमालको भनाइ थियो।

‘जनाताले परिर्वतन महसुस गर्नेगरी धितोपत्रसम्बन्धी नीति निमार्ण गर्नु नै मेरो प्रमुख उद्देश्य हो’, अध्यक्ष हमालले भने, ‘काम गर्दै जाँदा हुनसक्ने प्रक्रियागत गल्तीमा सचेत गराउन म सबैलाई आग्रह गर्छु।’ 

गलत उद्देश्य र नियत राखेर आफू कहिल्यै अघि नबढ्ने पनि हमालले प्रस्ट्याए।   

सेबोनको नेतृत्वमा आएपछि वित्तीय साक्षरता धेरै काम गर्नुपर्ने देखिएको पनि हमालले बताए। वित्तीय साक्षरताका लागि उपयुक्त नीति र बजेटका लागि बोर्डले गृहकार्य गरिरहेको उनको भनाइ थियो।

वित्तीय साक्षरताका लागि आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि अनिवार्य भएको भन्दै हमालले बदलिँदो प्रविधि र विश्व आयमसँग अनुकूल हुनेगरी आर्थिक पत्रकारको क्षमता अभिवृद्धि गर्नेबारे सेबोनले तयारी थालेको पनि जानकारी दिए।

कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले अर्थतन्त्र विकासमा आर्थिक पत्रकारले खबरदारी गरिरहेको बताए। ‘जिम्मेवार स्थानमा बसेका नियामक निकायहरुले गर्ने राम्रा कामको प्रचार गर्दै नकरात्मक र गैरकानुनी काम गरेमा निरुत्साहित गर्ने भूमिकामा आर्थिक पत्रकार छन्’, उनले भने।