काठमाण्डौ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी आउँदो माघ १८ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ। 

प्राप्ति प्रक्रियालाई स्वीकृत गर्न दुवै बैंकले यही पुस २८ गते आआफ्नो वार्षिक साधारणसभा डाकेका छन्। ‘वार्षिक साधारणसभाबाट प्राप्ति प्रक्रिया स्वीकृत गरी एकीकृत कारोबार गर्न अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने छौँ’, हिमालयन बैंकका एक अधिकारीले भने, ‘राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि एकीकृत कारोबार माघ १८ गतेबाट गर्ने दुवै बैंकबीच आन्तरिक सहमति भएको छ।’

पुुस मसान्तपछि एकीकृत कारोबार गर्दा पनि मर्जर प्रयोजनका लागि दिने भनिएका नियामकीय सुविधाहरु राष्ट्र बैंक दिन तयार रहेको ती अधिकारीको भनाइ छ। ‘किनकि ब्यालेन्ससिट अप्रुभलका लागि दुवै बैंकले दसैँअघि नै राष्ट्र बैंक पठाएको हो, त्यहाँबाट स्वीकृत हुन ढिलाइ भयो’, ती अधिकारीले भने, ‘त्यही कारण पनि राष्ट्र बैंकले पुस मसान्तपछि एकीकृत कारोबार गर्दा पनि नियामकीय सुविधाहरु दिन तयार रहेको देखिन्छ।’

यी दुई बैंकबीच असार २९ गते प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए। 

हिमालयनले सिभिल बैंकलाई १००ः ८१ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो। सम्झौताअनुसार प्राप्तिपछि बैंकको नाम हिमालयन बैंक लिमिटेड रहनेछ भने सञ्चालक समितिमा पनि हिमालयनकै सञ्चालक रहनेछन्।

यस्तै सीईओमा पनि हिमालयन बैंकका अशोकशमशेर राणा रहनेछन्। सिभिल बैंकका सीईओ सुनिल पोखरेलले वरिष्ठ डेपुटी सीईओको जम्मेवारी सम्हाल्नेछन्। 

हाल हिमालयन बैंकको चुक्तापुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। सिभिल बैंकको ९ अर्ब ७ करोड ५ लाख ४३ हजार ८९० रुपैयाँ रहेको छ । प्राप्तिपछि बैंकको कुल चुक्तापुँजी २२ अर्ब रुपैयाँभन्दा बढी पुुग्नेछ।  

राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई गत साउन २३ गते नै सैद्धान्तिक सहमति प्रदान गरेको थियो।